कैलालीमा ६ जना यातायात व्यवसायी पक्राउ, केही भागेर भारत पुगे ! - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

कैलालीमा ६ जना यातायात व्यवसायी पक्राउ, केही भागेर भारत पुगे !



कैलाली । यातायातका साधन ग्यारेजमा राखेर हड्तालमा उत्रीएका यातायात ब्यावसायिहरुलाई प्रहरीले पक्राउ गरेको छ । सरकारले खारेज गरेको यातायातको सिन्डीकेट प्रणालीको बचाउमा लागेको आरोपमा जिल्ला प्रहरी कार्यालयको निर्देशनमा इलाका प्रहरी कार्यालय लम्कीले कर्णाली रिभर यातायात व्यवसायी संघका अध्यक्ष सहित ६ जना पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरीक्षक साउँदका अनुसार सिन्डीकेटको पक्षपोषण गरेको भन्दै कर्णाली यातायात समितिका अध्यक्ष धिरज शाही सहित महासचिव गणेशराज ओली, कोषाध्यक्ष जैरु बुढा र दुई जना सदस्य ज्ञानु भण्डारी र कृष्णप्रसाद भट्टराईलाई पक्राउ गरिएको हो । यस्तै कर्णाली यातायातको टीकापुरमा रहेको काउन्टर ईन्चार्ज हिक्मत खड्कालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अध्यक्ष शाहीलाई चिसापानीबाट पक्राउ गरिएको हो भने अन्यलाई लम्कीबाट पक्राउ गरिएको हो ।

सिन्डिकेटको पक्षमा आन्दोलन गर्दै सवारी साधन नचलाउने यातायात व्यवसायी संघका पदाधीकारीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन आएपछि उनीहरुलाई पक्राउ गरिएको हो । कैलालीका कुनै पनि यातायात व्यवसायी सम्पर्कमा नभएको र उनीहरु मोवाईल समेत अफ गरेर वसेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपि विनोद घिमिरेले जानकारी दिए । विहानदेखि राजमार्ग क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि खोज तलास गरिरहेको भएपनि पदाधिकारीहरु सडकमा नआएको उनले बताए ।

प्रहरीले पक्राउ गर्न थालेपछि कैलाली कञ्चनपुरका समितिका केही पदाधीकारी भारततर्फ भागेको पनि बुझीएको छ । यातायात समितीका पदाधिकारीहरुलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले वताए ।