१२ सय घरमा क्षति, बिद्धुत सेवा बन्द, नि:शुल्क उपचार - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

१२ सय घरमा क्षति, बिद्धुत सेवा बन्द, नि:शुल्क उपचार



धनगढी । कैलाली र कञ्चनपुरमा आएको बिनासकारी हावाहुरीका कारण झण्डै १२ सय घरमा क्षति पुगेको छ । हावाहुरीले दुई जनाको ज्यान गएकाे थियाे । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रारम्भीक चरणमा एक हजार एकसय ७४ घरमा क्षति पुगेको पाइएको छ ।अझै लगत संकलन गर्ने कार्य भइरहेकोले यो संख्या बढ्न सक्ने बताए । हावाहुरीका कारण मृत्यु हुनेमा कैलालीको टीकापुर नगरपालिका २, राजीपुरका ४७ वर्षीय लाहानु चौधरी र गोदावरी नगरपालिका ८ का बीरबहादुर चौधरी रहेको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए । लाहानुको कुखुराको खोरमा च्याएर र बीरबहादुर रोकिराखेको ट्रिपरमा ठोक्किएर ज्यान गएको हो ।

हावाहुरीमा घाइते भएकामध्ये चार जनाको धनगढीमा, दुई जनाको अत्तरियामा र दुई जनाको कोहलपुर तथा दुई जनाको भारतको हल्दवानी उपचार भइरहेको छ । अन्य घाइतेहरु उपचारपछि आ आफ्नो घर फर्केको प्रहरीको भनाइ छ । बिहीबार साँझ साँझ साढे सात बजेदेखि लगातार एक घण्टासम्म हावाहुरीसँगै जोडले पानी परेको थियो । हावाहुरीका कारण सयौंका घरका छाना उडाएको तथा केरा, आँप, लिचि लगायतका फलफूलका बोटहरुमा ठूलो क्षति पुगेको छ । हावाहुरीले घरको छाना तथा घर उडाएपछि सयौं जना घरबारबिहीन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली जिल्ला दैवीप्रकोप राहत तथा उद्दार समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले घोडाघोडीमा हावाहुरीसँगै आएको चट्यांङ लागेर एक जना घाइते भएको बताए । उनले घटना र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए । प्रजिअ बोहराले हावाहुरीबाट घाइते भएकाहरूका सबैको उद्दार गरी क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताए ।

‘हावाहुरीले रुख ढलेर अवरुद्ध भएका सडकहरु खुलाइसकेको र घरबारबिहीनलाई तत्काल बस्नलाई प्रबन्ध मिलाउने कार्य भइरहेको छ’, प्रजिअ बोहराले भने, ‘बढी जनघनत्व भएका ठाउँमा क्षति बढी भएको र घरका जस्तापाता र छाना उडेका छन भने कसैका पर्खालहरु भत्किएका छन् । त्यो विवरण संकलन गर्ने काम भइरहेको छ ।’ उता, कञ्चनपुरमा २३ जना घाइतेमध्ये आठ जनालाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याइएको छ । कञ्चनपुर निमित्त प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले आठ घाइतेमध्ये एक ११ वर्षीया बालिका गम्भीर रहेकी छिन् । विद्युत र बैकिङ सेवा बन्द कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण विद्युत र वैकिङ सेवा वन्द भएका छन् । बिहिबार रातीदेखि आएको हावाहुरीले कैलाली र कञ्चनपुरका पाँच सय बढी विद्युतका पोलहरु ढलेका छन् ।

पोलहरुमा रुख ढलेका कारण कैलाली कञ्चनपुरको विद्युत सेवा अवरुद्ध रहेको जनाइएको छ । विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले पोलहरु ढलेका कारण विद्युत आपूर्तिमा समस्या भएको जनाएको छ । विद्युत कार्यालयले कैलाली र कञ्चनपुरका मुख्य बजारमा शुक्रबारदेखिनै विद्युत सेवा प्रदान गर्ने गरी काम गरिरहेको जनाएको छ । कार्यालयका अनुसार विद्युत सेवाका लागि मर्मत कार्य सकिने यकिन समय भन्न नसकिने जनाएको छ । विद्युत नभएपछि यस क्षेत्रमा रहेका बैंकहरुको पनि सेवा प्रभावित भएको थियो ।
यस्तै, उद्योग, कलकाराखाना, व्यापार व्यवसायी, सञ्चारमाध्यम पनि विद्युत नहुँदा प्रभावित भएको छ । प्रदेश सांसदले दुई दिनको तलब दिने कैैलाली कञ्चनपुरका हावाहुरी पीडितलाई प्रदेशका सांसदहरुले दुई दिनको तलब उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेशका सांसदहरुले सो घोषणा गरेका हुन् । यस प्रदेशमा प्रत्यक्ष तथा समानुपातिक गरि ५३ जना सांसदहरु रहेका छन् ।

प्रदेश सांसदहरुले हावाहुरीको घटना दुखद रहेको बताएका थिए । प्रदेश सरकारले घाइतेको निशुल्क उपचार गर्ने सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिहीबार आएको विनाशकारी हावाहुरीबाट घाइते भएका सबेको उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलन गरी सम्पूर्णका क्षतिको विवरण संकलन गरी राहत घोषणा गर्ने बताए । अहिले सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको छ । मन्त्री शाहले हावाहुरीका कारण विद्युत, खानेपानी, टेलीफोन लगायतका सेवा अवरूद्ध भएको बताए ।

प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थय लाभको कामनासमेत गरेको छ । विपदको घडीमाप्रदेश सरकारले आआफनो ठाउँबाट सहयोग गर्न समेत अपिल गरेको छ । यसैगरी, नेकपा कैलालीले प्रेस विज्ञप्ति जारी गरेर हावाहुरीबाट पीडितको उद्धार, उपचार गर्न, राहत दिन र पुनर्निर्माण गर्न माग गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयले पनि पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले घाइतेहरुको उपचार र क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको व्यवस्था गरी जनतालाई राहत दिन सरकारसँग माग गरेको छ ।

५० नटको भेगमा हावाहुरी कैलाली र कञ्चनपुरमा ९५ किलोमिटर प्रति घण्टाका दरले हावाहुरी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कडेलले पश्चिम भेगबाट विस्तारै पूर्वतिर गएको बताइन । उनका अनुसार कैलाली कञ्चनपुरमा ५० नटको भेगमा आएको हुरी काठमाडौं प्रस्थान गर्दा ३५ नट पुगेको थियो । जुन भेगमा हावाहुरी आएको थियो त्यो एकदमै विनासकारी रहेको थियो उनले भनिन् ।