कैलालीमा पनि 'स्मार्ट लकडाउन': यस्तो छ प्रशासनले जारी गरेको १२ बुँदे आदेश - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

कैलालीमा पनि ‘स्मार्ट लकडाउन’: यस्तो छ प्रशासनले जारी गरेको १२ बुँदे आदेश



धनगढी- कोभिड १९ को ग्राफ फेरि बढ्न थालेपछि कैलालीमा पनि ‘स्मार्ट लकडाउन’ जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले १२ बुँदे आदेश जारी गरिएको छ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले १२ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका हुन्। कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको हो।

आदेश लागू भएपछि एकै स्थानमा २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन। २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यान लगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने आदेशमा उल्लेख छ।

आदेशानुसार घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ।

स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरेको छ।

शिक्षा मन्त्रालयको निर्देशनबमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठन-पाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई व्यवस्थापन गर्न आदेश दिइएको छ।

त्यस्तै सार्वजनिक सेवा प्रवाह गर्दा कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ। जिल्लाभित्रका निजी स्वास्थ्य संस्था र स्थानीय तहलाई विगतमा तयार पारिएको उपचार र आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन आदेश दिइएको छ।

अक्सिजन सिलिण्डर आपूर्ति सहज बनाउन, कोरोनाको दोस्रो लहरमा प्रयोग भएका सिलिण्डर अस्पताल, उद्योग र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ। सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ।