कैलाली कांग्रेसमा पनि बिद्रोह: नेता र कार्यकर्ताले गरे सामूहिक राजीनामा - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

कैलाली कांग्रेसमा पनि बिद्रोह: नेता र कार्यकर्ताले गरे सामूहिक राजीनामा



धनगढी । कैलालीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति कैलालीमा कांग्रेस कार्यकर्ताहरु असन्तुष्ट भएका छन् । कैलालीमा कांग्रेस कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका वडा सभापतिसहित ९१ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यहरुले शुक्रबार नगरसभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका हुन् ।

“विगत लामो समयदेखि बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटिका तर्फबाट उमेदवार नभएका कारण क्रियाशील सदस्यबाट राजीनामा दिँदै स्वतन्त्र उमेदवार उठाउने निर्णय गरेका छौँ,” राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

सामूहिक राजीनामा दिनेहरुमा नेपाली कांग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्कालगायत नेता कार्यकर्ता रहेका छन् ।

धनगढी उपमहानगरपालिका–१८ मा अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उमेदवार उठाउने भएको छ । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेका कारण भागबण्डाका क्रममा माओवादीले नै पाउने भएपछि कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट बनेका हुन् ।