काँग्रेसले कैलालीका १० जना नेतालाई पार्टीबाट निष्काशन गर्‍यो - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

काँग्रेसले कैलालीका १० जना नेतालाई पार्टीबाट निष्काशन गर्‍यो



धनगढी : कैलालीमा नेपाली काँग्रेसले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ। काँग्रेसको जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उभिएकाहरूलाई कारबाही गरिएको जनाएको हो।

काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टका अनुसार बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरिएको छ। ती उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरूमाथि ५ वर्ष साधारण सदस्यतासमेत नरहने गरी कारबाही भएको हो।

कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ (ख) मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नविनकुमार बोहरा, २ (ख) मा उम्मेदवारी दिएका भरतकुमार शाही, क्षेत्र नम्बर ३ (ख) मा उम्मेदवारी दिएका गोविन्दराज जोशी, क्षेत्र नम्बर ३ (ख) कै लक्ष्मण शाही र क्षेत्र नम्बर ४ (ख) की भगवती पाठक रहेका छन्।

भरतकुमार शाहीका समर्थक कमलकुमार विक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्री पनि पार्टीबाट निकालिएका छन्।

क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई पनि काँग्रेसले कारबाही गरेको छ। जोशी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको समर्थक बसेका थिए।