कैलाली भ्रमण वर्ष २०७५ को तयारी तिब्र - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

कैलाली भ्रमण वर्ष २०७५ को तयारी तिब्र



लोकेन्द्र रावल

टीकापुर,कैलाली । कैलाली भ्रमण वर्ष २०७५ को तयारी तिब्र पारिएको छ । भ्रमण बर्षको तयारीकै क्रममा टीकापुर आउने अतिथिहरुको खानपान, बास र कार्यक्रमममा प्रस्तुत गरिने झाकीको तयारीमा टीकापुर नगरपालिका जुटेको छ ।

नगरपालिकाले भ्रमण बर्ष उद्घाटन कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर तयारी थालेको हो ।

टीकापुर नगरपालिकाले अतिथि स्वागत तथा विदाई उपसमिति, सांस्कृतिक झाँकी तथा मञ्च व्यवस्थापन उप समिति, भोजन तथा आवास व्यवस्थापन उपसमिति, प्र्रचार प्रसार समन्वय उपसमिति, स्वागत द्वार  निर्माण उपसमिति, सरसफाई तथा सौन्दर्य उपसमिति गठन गरी व्यवस्थापनको काम तिब्र पारेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

टीकापुर पार्कमा विविध सांस्कृतिक कार्यक्रम गरिने तयारी छ । सांस्कृतिक कार्यक्रममा विभिन्न समुदायका झाकीहरु जस्तै ःपन्चेवाजा, मगर नाच,सखीया नाच, लहवा नाच, देउडा नाच, पुतला नाच डल्फिनको डकुमेन्ट्री प्रदर्शन लगायतका कार्यक्रम हुने जानकारी दिइएको    छ ।

पार्कमा करिव ७ सय सम्म पाहुनाहरु आउन सक्ने अनुमान नगरपालिकाले गरेको छ । पार्कमा आउने पाहुनाहरुलाई पार्कमा नास्ता र टीकापुरमा खाना खुवाउने तयारी मा नगरपालिका जुटेको नगर प्रमुख तपेन्द्र रावलले जानकारी दिनुभयो ।

अतिथिहरुलाई स्थानीय उत्पादन ढिक्री,घोंघी,डोकनी चटनी, आर.आर. बाईस चामल वा सामामंसुली चामल को भात, लोेकल कुुखुराको मासु, पनीर, कर्णालीको माछा, मासको फाडो, ग्रिन सलाद,, केराको (बुंग) को अचार, हरियो तरकारी र पापड सहितको खाना खुवाउने तयारी भएको भोजन व्यवस्थापन समितिका सदस्य राम शंकर डगौरा थारुले बताउनुभयो ।

पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रचार प्रसार गर्ने उद्देश्यले जिल्ला समन्वय समितिको संयोजनमा प्रधान मन्त्री के.पी.शर्मा ओलीबाट चिसापानी मा बैशाख २२ गते उद्घाटन हुने भ्रमण बर्ष उद्घाटन पछि संघीय तथा प्रतिनिधी सभाका सांसद, कैलालीका १३ वटै स्थानीय तहका जनप्रतिनिधि र अन्य अतिथिहरु टीकापुर पार्कमा आउनेछन् ।

नगरपालिकाले अतिथिहरु सय जना सम्मलाई टीकापुरमै बास बस्ने व्यवस्था मिलाएको र बांकी अतिथिहरु लाई लम्की, चिसापानी सम्म व्यवस्थापन गर्ने कार्य भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रबराज आचार्यले बताउनु भयो ।

आचार्यले टीकापुरमा सयौं मानिस बसाउन सकिने होटलको व्यवस्था नभएका कारण अन्य स्थानीय तहसंगको समन्वयमा बास को व्यवस्था मिलाइने बताउनुभयो ।

आचार्यले टीकापुर पार्कमा कार्यक्रम पछि अतिथिहरुलाई सत्ती स्थित पदम प्रकाशेश्वर महादेव मन्दिर र डल्फिन पाइने ठाउंको अवलोकन गराइने कार्यक्रम रहेको बताउनुभयो ।

नगरपालिकाले भ्रमण बर्षलाई लक्षित गरी टीकापुर बजार सफा  राख्न र आफ्नो घर आंगन सफा राखिदिन सबै नगरवासीलाई आग्रह समेत गरेको छ ।

नगरपालिकाले बुधबारबाट बजारका मुख्य क्षेत्रमा अतिथिको स्वागतका लागि गेट निर्माण कार्य समेत शुरु गरेको छ ।