कक्षा ११ र १२ मा गणित नहट्ने - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

कक्षा ११ र १२ मा गणित नहट्ने



काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो। सरोकारवालाले चर्को विरोध गरेपछि प्रारूप परिवर्तन गरेर जीव विज्ञानमा पनि गणितलाई इच्छाधीन नै कायम राख्ने निर्णय केन्द्रले गरेको हो।

विषयगतविज्ञसँग परामर्श नगरी पाठ्यक्रम बनाएको आरोपसमेत केन्द्रमाथि लागेको थियो। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा।लेखनाथ पौड्यालले नयाँ पाठ्यक्रम बनाइरहेको जानकारी दिए। अर्को वर्षदेखि नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ। पुरानो पाठ्यक्रमअनुसार जीव विज्ञानमा गणित ऐच्छिक विषयका रूपमा पढाइ भइरहेको छ।

नयाँ संरचनाअनुसार कक्षा ११ र १२ विद्यालय तहमा गाभिएपछि केन्द्रले नयाँ पाठ्यक्रम बनाइरहेको हो। अधिकांश विद्यार्थीलाई अनुपयोगी रहेको तर्क गर्दै केन्द्रले गणित हटाउने प्रस्ताव गरेको थियो। केन्द्रले विज्ञकै सुझावमा गणितलाई निरन्तरता दिएको हो। जीव विज्ञानका विद्यार्थीले साताको ५ दिन गणित पढ्नेछन्। नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ र १२ मा ७ विषयको पढाइ हुनेछ। कक्षा ९ र १० मा आठ तथा कक्षा ११ र १२ मा पाँच विषय पढाइ भइरहेको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।