संसदमै ओलीको राजिनामा माग्दै कविता बाचन (कविता सहित) - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

संसदमै ओलीको राजिनामा माग्दै कविता बाचन (कविता सहित)



विराटनगर- अहिले देश बास्कोटाको काण्ड र प्रधानमन्त्री ओलीको केकमाया बनेको छ । यी दुई काण्डले प्रधानमन्त्री ओलीको राजिनामा माग्ने लहर चलेको छ ।

प्रदेश १ संसदमा पनि मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले सदनमै कविता वाचन गरी प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् ।

मंगलबार प्रदेशसभा बैठकको शून्य समयमा आफूले पाएको तीन मिनेटको समय सचेतक राईले कविता वाचन गरी प्रम ओलीको राजीनामा माग्न खर्चेका हुन् ।

सरकारले भ्रष्टाचार रोक्न नसकेको, प्रमका आसेपासेहरू नै बढी विवादमा पर्न थालेको र नेपालको नक्सा आकारको केक काटेर जनताको चित्त दुखाएको विषयलाई कवितामार्फत प्रस्फुटन गरेको सचेतक राईले बताए ।


सांसद राईले वाचन गरेको कविता

‘बालुवाटारमा बेसुरा सारंङ्गी रेटेको देखियो ।
सर्वहारा बर्थडेमा केक हो कि देश ? काटेको देखियो ।।

सामन्ती, बुर्जुवा, पुँजीपति जनताका शत्रु हुन् भन्थे,
सर्वहारा प्रधानमन्त्रीको मण्डले चरित्र फाटेको देखियो ।

समृद्ध नेपाल सुखी नेपाली नारा त सुनेकै हो,
करोड, अरबको कमिसनमा त्यो सबै साटेको देखियो ।।

भ्रष्टाचारीको मुख हेर्दिन, नयाँ तुक्का शब्दकोषमा,
आफ्नु अनुहार ऐनामा मज्जाले चाटेको देखियो ।।

नेपाल र नेपालीको भाग्य बदल्छु भन्नेले,
काखी च्यापी घुसखोरीलाई जनता ढाँटेको देखियो ।।

मेची, काली, हिमाल तराई जै राष्ट्रवाद,
बेला बेला उत्तर दक्षिण शिर काटेको देखियो ।।

राजीनामा माग्छन् जनता ए प्रधानमन्त्रीज्यू,
नैतिकता कुन चरी हो ? उल्टै सोध्न आँटेको देखियो ।।