चाह - रूप रसाइली - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

चाह – रूप रसाइली



 

सबैलाई थाहा छ
पहाडबाट झरेकी झरणा समुन्द्रमा पुग्छिन्
बेंशीबाट उडेको भुइँ-कुहिरो हिमालमा पुग्छ
र बिहान उदाएको सूर्य साँझमा अस्ताउँछ

 

मैले धेरैलाई सोधे
आखत हेर्ने झाँक्रीदेखि पात्रो हेर्ने ज्यतिषसम्म
ग्रह पत्ता लगाउने वैज्ञानिकदेखि मन्दिर भित्रको ढुंगासम
शहरको पहरेदार शालिकदेखि मुग्लान् हिंडेको देशसम्म।

 

कसैलाई थाहा छैन
कसैले बताउन सकेनन्
पहिलो भेट नै अन्तिम भेट बनाइ
हेर्दा हेर्दै प..र कतै धूमिल बनेको
मेरो प्राण भन्दा प्यारो मान्छेको वर्तमान ठेगाना।

 

अचेल
मेरा सेतै फूलेका कपालहरू
धूमिल बन्दै गएका यी दुई आँखाका नानीहरू
चाउरिंदै गएका काला त्वचाहरू
प्रार्थना गर्छन्
उ दोस्रो पटक नभेटियोस् भनेर।

 

बेग्लै रहेछ जवानी मै छुटिनुको मजा
जो हरेक दिनको कल्पनामा जवान बनेर आउँदो रहेछ
हो, उ मेरो आँखामा कहिल्यै वृद्ध हुने छैन।