कविता – सन्तुष्टि
– वासुदेव पाण्डेय
जग्गा सयौंका सय रोपनी छ
अग्ला अनेकौं घरको धनी छ।
भन्छन् सबै सक्रिय उद्यमी छ
सन्तुष्ट बन्ने मनको कमी छ।।
सस्तो र दामी सब चिन्न सक्छ
चाहन्छ जे ऊ सब किन्न सक्छ।
चाहे उडोस् दैनिक ऊ विदेश
जे खान खोज्थ्यो गरिए निषेध।।
पर्खाल,काँडामय तार राख्छ
पाले खटाए पनि बार राख्छ।
चिन्दैन आफन्तहरू स्वयम् को
प्राडो,पजेरो बदलोस् छ एक्लो।।
चाहे समाओस् सुनकै कचौरा
खाओस् किनी ऊ सुनकै फुलौरा।
ओछ्यान आफ्नो सुनकै बनाए
के गर्नु निद्रा त्यसमा नआए।।
आफ्ना भनेका सब टाढिएछन्
सम्बन्ध नाता पनि भाँडिएछन्।
‘सम्पन्नता’ थप्छ जहाँ दबाब
मुस्कानको हुन्छ त्यहाँ अभाव।।
पाटन नपा-२,बैतडी, हाल – सुर्खेत