कविता: तिमी-एक सम्बोधन!!
लेखक – रामहरि आत्मीय
कौसीमा बसेर
घर नजिकैको पहाड भन्दा
पर
धेरै पर
क्षितिज मा हेर्दै कल्पि रहेछु
अनि देखिरहेछु सपमा
ठुलो संसारको ।
संसार भित्रको एउटा सुन्दर सहर
जहाँ केही कमी छैनन्
आधारभूत आवश्यकताहरू
म कल्पिन्छु
जसरी प्रत्येक भेटमा
चार आँखा दुई भएकाछन्
त्यसै गरी दुई मन एक भैदिए…
त्यो सहरको सबैभन्दा सम्पन्न
र शक्तिशाली मै हुने थिएँ ।
अझै सोचिरहेछु त्यो सुन्दर सहरको
म राजा तिमी रानी……
म भन्दिनँ हाम्रो सम्बन्ध
लैला मजनु, रोमियो जुलियट अनि
मुना र मदनको जस्तो हुनुपर्छ ।
मेरो जिन्दगीको हरेक
खुड्किला हरूमा
तिमीले एक इट्टा थपिदिनु
तिमी मेरै हुनुपर्छ भन्दिन
तर !
मेरा हरेक प्रगतिको श्रेय
तिमीमा नै समाहित होस्…
मेरो सुख अनि दु:खमा
तिमीले साथ दिनुपर्छ पनि भन्दिनँ
तर!
तर! तिम्रा हरेक दु:खमा आँसु पुछ्न
अनि सुखमा तिमी सँगै हास्न सकु….
तिमी अनि म एक हुनु पर्छ………