बागी उमेदवारहरू जसपाबाट निष्काशित, यस्तो छ पुरा विज्ञप्ति
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले बागी उमेदवारलाई कारबाही गरेको छ ।
केन्द्रीय कार्यकारिणी समितिका सदस्यसमेत रहेका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टी निर्णय विपरीत उमेदवारी दिनेलाई निष्कासन गरिएको छ ।
“…पार्टी नीति, निर्णय विपरीत स्वतन्त्र रूपमा उमेदवारी दिने त्यस्ता उमेदवारहरूले पार्टी अनुशासन उलंघन गरी उमेदवारी कायम राखी रहेकाले उनीहरूलाई पार्टीबाट निष्कासित गरिएको छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जसापाले नेकपा (एमाले)सँग तालमेल भएका स्थानमा संयुक्त उमेदवारलाई जिताउन र तालमेल नभएका ठाउँमा पार्टीका उमेदवारालाई जिताउन लाग्न पनि निर्देशन दिएको छ ।
“तालमेल भएको स्थानमा जसपा, नेपाल र नेकपा (एमाले)का संयुक्त उमेदवारहरूलाई र तालमेल नभएका स्थानमा जसपा, नेपालको उमेदवारको पक्षमा लाग्न, प्रचार प्रसार गर्न, मत माग्न र निर्वाचनमा विजयी बनाउन पार्टीका सम्पूर्ण समर्थक, शुभ–चिन्तक तथा सदस्यहरु र नेतृत्वमा रहनु भएका सबै साथीहरूलाई निर्देशित गरिन्छ,” विज्ञप्तिमा उल्लेख छ ।