छोरा कुटिएपछि निर्वाचन स्थगित गर्न गोविन्दराज जोशी समूहको माग - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

छोरा कुटिएपछि निर्वाचन स्थगित गर्न गोविन्दराज जोशी समूहको माग



व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएपछि निर्वाचन स्थगित गर्न माग गरिएको छ । व्यास नगरपालिका–८ रिस्तीमा मेयरका उम्मेदवार जोशीमाथि कुटपिट भएको हो ।

मतदान निरीक्षण गर्न रिस्ती गएका जोशीमाथि कुटपिट भएको हो । जोशीमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् । उनको गाडी समेत तोडफोड भएको छ । जोशीको उपचारका लागि दमौली ल्याइएको छ ।

नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले नेकपा एमालेसँग तालमेल गर्दै स्थानीय तहको निर्वाचनमा होमिएको थियो ।

जोशीमाथि आक्रमण भएपछि एमाले र जोशी समूहले उक्त केन्द्रको निर्वाचन स्थगित गर्नुपर्ने माग गरेको छ । साबिकको रिस्ती गाविसको भवन फेदी केन्द्रको निर्वाचन स्थगित गर्नका लागि मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गरिएको छ । एमालेका जिल्ला सचिव राजेश्वर ढकाल र मेयरका उम्मेदवार जोशीले संयुक्त हस्ताक्षर गर्दै निर्वाचन अधिकृतको कार्यालय तनहुँलाई पत्राचार गरेका हुन् ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार वैकुण्ठ न्यौपाने पक्षधर व्यक्तिले मतदान केन्द्र नियन्त्रणमा लिई एकलौटी रूपमा मतदान गराएको, मतदान केन्द्रको शान्ति सुरक्षाको स्थिति बिगारेको, एजेन्टलाई बस्न नदिइएको, शान्ति सुरक्षाको स्थिति सुधार गर्न मेयर पदका प्रत्याशी जोशीले पटक-पटक मतदान अधिकृतसँग अनुरोध गर्दा पनि बेवास्ता गरी एकलौटी रूपमा भोट हालेको स्थितिमा जोशीले आपत्ति जनाउँदा उनीमाथि आक्रमण भएको जोशी समूहको आरोप छ ।

न्यौपाने पक्षधर समूहले जोशीलाई सांघातिक आक्रमण गरी टाउको गम्भीर चोट पुर्‍याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ । ‘उक्त मतदान केन्द्रको मतदान प्रक्रिया अझै पनि स्थगित नगरी निरन्तरता दिने षडयन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ उक्त मतदान केन्द्रको मतदान प्रक्रिया तुरुन्त बन्द गर्न, दोषीलाई कारबाही गर्न र घाइते मेयर पदका उम्मेदवार जोशीलाई उपचार गर्न अनुरोध गर्दछौं’, पत्रमा उल्लेख छ ।

तर, रिस्तीमा मतदान सकिएको व्यासका निर्वाचन अधिकृत हरिषचन्द्र ढुंगानाले जानकारी दिए । मतदान सम्पन्न भएर प्याकिङको काम भइरहेको उनले जानकारी दिए ।