जोरबिजोर प्रणाली हट्ने, अत्यधिक भिडभाड भएपछि सीडीयोहरू छलफल गर्दै - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

जोरबिजोर प्रणाली हट्ने, अत्यधिक भिडभाड भएपछि सीडीयोहरू छलफल गर्दै



काठमाडौं- काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक तथा निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली हट्ने भएको छ । अत्यधिक भिडभाड भएको भन्दै गुनासो आएपछि यो प्रावधान हटाउन लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जोरबिजोरले भिडभाड बढाएको गुनासो आएको र प्रभावकारी नभएको बताएका छन् । सवारीसाधनको अन्तिम नम्बरका आधारमा जोर गते जोर र बिजोर गते बिजोर सवारी सञ्चालन भइरहेका छन् ।

सबै किसिमका कार्यालयहरू सञ्चालन भइरहेकाले महामारी रोकथाम गर्न लागु गरिएको जोरबिजोरले सवारीमा अत्यधिक भिडभाड बढाएको छ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरूमा जोरबिजोरले भिडभाड बढाएको गुनासाहरू अत्यधिक आउन थालेपछि प्रशासनहरूले जोरबिजोर प्रणालीले भिडभाड बढाएको स्वीकार पनि गर्दै हटाउने निष्कर्षमा पुगेका छन् ।

दैनिक उपत्यकामा बढिरहेको संक्रमणदरको समीक्षा भइरहेको प्रजिअ रिजालले बताएका छन् । सकेसम्म भिड पनि कम होस्, नागरिकले दुःख पनि नपाउने वातावरण बनाउनेतर्फ निर्णय निकाल्ने छलफल भइरहेको उनले बताएका छन् । अब तीन जिल्लाका सीडीयो बसेर यसबारे निर्णय गर्ने तयारी भएको बताइएको छ।