विप्लवका पोलिटब्युरो सदस्य नै नेकपामा प्रवेश - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

विप्लवका पोलिटब्युरो सदस्य नै नेकपामा प्रवेश



काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

शनिबार विहान नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्कीलाई पार्टी प्रवेश गराएका हुन्।

तत्कालीन नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य रहेका कार्की पार्टी फुटपछि वैद्य हुँदै विप्लव नेकपामा लागेका थिए।

सरकारले विप्लव नेतृत्वको नेकपा हिंस्तमक गतिविधिमा लागेको भन्दै पार्टीका गतिविधि गर्न प्रतिबन्ध गरेपछि कार्की २०७५ साल चैत १ गते ललितपुरको बालकुकारीस्थित डेराबाट पक्राउ परेका थिए। उनी १ सय ४३ हिरासतमा बसी २०७६ साउन २१ गते रिहा भएका थिए। किड्नीको समस्याबाट पीडित रहेका कार्की त्यसपछि पार्टी गतिविधिमा नलागेको बताइएको छ।

अध्यक्ष प्रचण्डले कार्की सहितको समूहलाई पार्टीमा स्वागत गर्दै नेकपाका अध्यक्ष विप्लव पनि छिट्टै फर्केर आउने विश्वास व्यक्त गरे।

‘साथीहरु फर्कने क्रम जारी छ, अब विप्लव पनि आउनुपर्छ’, उनले भने, ‘मलाई विश्वास छ, एकदिन उहाँ पनि आउनुहुन्छ। आउनुभएन भने कसैलाई पनि फाइदा हुँदैन।’