जीवनको लक्ष्य- ग्यास सिलिन्डर ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जीवनको लक्ष्य- ग्यास सिलिन्डर !



ऊ र प्रजातन्त्र एकै सालमा महिना दिन अघि पछि जन्मेका हुन । दबै अट्ठाइस वर्षका भए । देशभरका बच्चाले स्कुलको पहिलो दिन ‘तिमी के बन्ने?’ भनेर सोधिने प्रश्नमा फ्याट्टै ‘डाक्टर’ बन्ने’ भनेर जवाफ दिए जस्तो सपना थिएन उसको । उसको मनको जरै देखिको सपना थियो डाक्टर बन्ने । र त्यो सपना आमाको दम,बाका फुटेका पैताला र भिरको घरले पलाएको थियो । पढाइमा ऊ राम्रै थियो । जति बढ़दै गयो,उसका सपना जटिल बन्दै गएको देख्यो,ती सपनाको बाटो साँघूरो बन्दै गएको देख्यो । सरकारी स्कुलको पढाइले उसले आफ्नो लक्ष्य भेट्न नसक्ने देख्यो । बाको मजदुरीको कमाइले आमाको रोग मेट्न नसक्ने देख्यो ।

काम गर्न खोज्यो,काम पाइएन । भन्ने बित्तिक़ै काम पाउन ऊ दलको मान्छे थिएन, अधिकांश नेपाली जस्तै दलदलको मान्छे थियो । पढाई पूरा गर्न घरको गरिबी र अभावले दिएन । अनि बालखैमा लाहूर रोज्यो । सबैले एस एल सी दिने बेलासम्म उसले लाहूरको धनले उसले टीनको छानो सम्म हालिसकेको थियो घरमा ।

केही समय यता उसको जीवन अलि फेरिएको छ । भारुको सट्टा उसको कुटीमा रियालको आगमन हुन थालेक़ो छ । लवाई खवाई केही फेरिएको छ । श्रीमती छोरो बोर्डिंग पढाउन भनी सहर पसेकी छन् । ‘सन्तान बोर्डिंग पढाउनु पर्छ,उपचार नर्शिंग होममा गराउनु पर्छ,रोज़गारको लागि लाहूर जानुपर्छ’, उसले बुझेको यत्ति हो,उसलाई बुझ्न बाध्य पारिएको यत्ति हो ।

उता गाउँमा बा-आमा  बीमार र बुढो घर एकआपसमा लड़दै बसेका छन् । बा को गरिबी देखेर मुग़लान पसेको छोरो अचेल बा आमा सँग नै रुखो जस्तो बनेको छ । बन्छु भनेर हैन,परिस्थितिले बनाएको । परिस्थिति अनुसार जसरी पनि बाँच्नै पर्ने अवस्थाले बनाएको । ऊ आफू पनि कसैको बा बनेको छ,हिंजो बाले डाक्टर बन्ने धन कमाइदिन नसकेको आहतमा रुखो बन्नु परेको उसलाई !यी कुरा तपशिलमा । उसको यतिबेलाको मुख्य मुद्दा अर्को छ ।

केही समय अघि नाकाबन्दीको बेला सहरको डेरामा ग्यांस नभएर उसकी प्यारी सङ्गिनीले काँचो चिउरा खाएको कुरा उसलाई समुद्रपारी सुनाइन । दिनहुँ रुखो सूखो,चिसो बुको खाएर काम गर्ने उसलाई असह्य पीडा भयो । खाडीमा सँगै काम गर्ने एक जना साथी प्रजातन्त्र आए देखि सत्ताकै आसपासमा हालीमुहाली गरिरहेको ‘झाले माले तारे’ पार्टीको विदेश स्थित सङ्गठनको मान्छे रहेछ । उसले एक दिन टन्न पार्टी खुवाउनु पर्छ भन्ने सर्तमा नेपालतिर फोन घुमायो । अर्को दिन उसको श्रीमतीको डेरामा दुई वटा सिलिण्डर एकै चोटि आए ।

ऊ अत्यन्त खुसी भयो । जीवनमा सबै भन्दा ठुलो सफलता हात पारेको महसुस भयो । डाक्टर बन्न नपाएको दुःख हरायो । गाउँमा रोगी बा-आमाले काल पर्खेको कुरा बिर्सियो । जेन तेन लगाएको टिनको छानो चुहिने भएको कुरा पनि बिर्सियो । जागिर माग्दा रोएका पल,पासपोर्ट बनाउँदा बगाएका आँसु सब बिर्सियो । अचेल प्रोफ़ाइल पीक्चरमा ग्यांस दिलाइदिने दलको झन्डा बेरेको छ । सामाजिक सञ्जालमा जो सँग पनि त्यही दलको प्रतिरक्षामा लड़छ,झगड़ा गर्छ । साथी भाइ इष्टमित्रलाई त्यही दलमा भोट दिन अपिल गर्छ । खासमा उसले आफ्नो सम्पूर्ण लक्ष्य हाँसिल गरेको छ कि झैँ गरी ग्यांस दिलाउने दलको जयजयकार गरिरहेको छ ।

उसलाई राम्ररी थाहा छ ऊ सँगै जन्मेको प्रजातन्त्रमाको क़सले राज गरे र डाक्टर बन्ने सपना देखेको एक युवालाई परदेश धकेले । थाहा भए पनि ऊ यी कुरा यति बेला गर्दैन । गरेर पनि फाइदा छैन भन्छ । सवाल बाँच्न पाउनुको छ । बाँच्न पाइएको छ,पुग्यो । ‘बा आमा बरु मरुन केही भएन श्रीमतीले ग्यांस पाउन’ सवाल यत्ति छ । उसको लक्ष्य,सपना,उद्देश्य जे भन्नोस,एक सिलिण्डर ग्यांस र दुई छाक भात भएको छ । र त्यो सजिलो गरी कहाँबाट कसरी जुट्छ,इमानको तराज़ू त्यतै ढल्क़ाउनु पर्ने बाध्यता छ ।

नेपाल फर्के पछि पनि दैनिक जीवन सहज बनाउन यसो गर्नै पर्छ,उसले बुझिसकेको छ । उसको एउटै उमेरका दलले कति चलाखी पूर्वक उसलाई केवल सास नजाउन्जेल जेनतेन बाँचे पुग्ने जीवन दिलाएका ? जीवन लास बनेको दुई चरण-एक सास छँदैको लास,अर्को सास गए पछिको लास । यति सुन्दर वरदान रूपी जीवनको एउटै टुक्रो लक्ष्य-ग्यांस सिलिण्डर !! धन्य प्रजातन्त्र ! अचेल त अझै गणतन्त्र ! वा रे वा !

पर्दामा सधैको दृश्य: एउटा नेपाली जीवन अनवरत खाडीबाट झाले,माले र तारेहरुको नारा लगाएर बित्छ,बितिरहन्छ । चुनाव र तन्त्रहरु आफ्नो बाटो आइरहन्छन,गइरहन्छन !

-हेमन्त गिरी,टोकियो
(२०१७/११/३०)