सभापति र महामन्त्रीमा हारेका भन्दा केन्द्रीय सदस्यमा हारेकाको वरीयता अगाडी - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
Logo

सभापति र महामन्त्रीमा हारेका भन्दा केन्द्रीय सदस्यमा हारेकाको वरीयता अगाडी



काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पराजित तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका उम्मेदवार बनेका जीवन शाही, महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल र सभापतिका प्रत्यासी कल्याण गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

शाही र पौडेल देउवा समूहबाट उम्मेदवार बनेका थिए भने गुरुङले सभापतिमा प्रतिस्पर्धा गरेका थिए । सभापतिमा पहिलो चरणमा पाँचौं स्थानको मत (२२)प्राप्त गरेका थिए । दोस्रो चरणमा गुरुङले देउवालाई समर्थन गरेका थिए ।

देउवाले सभापति र महामन्त्रीको प्रत्यासीभन्दा सहमहामन्त्रीमा पराजित शाहीलाई वरियतामा अगाडि राख्ने संकेत देखाएका छन् । मनोनयनपछि जारी प्रेस विज्ञप्तिमा पौडेल र गुरुङभन्दा शाहीलाई अगाडि राखिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाही काँग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिमा ३६ औं वरियतामा थिए । यस्तै पौडेल प्रदीप पौडेल ६३ र कल्याण गुरुङ ६४ औं वरियतामा थिए ।

देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्दा १४ औं महाधिवेशनको उम्मेदवारी भन्दा १३ औं महाधिवेशनको वरियतालाई प्राथमिकता दिएको देखिएको छ । त्यसमा पनि देउवाले शाहीलाई विशेष महत्व दिएको देखिएको छ । उपसभापतिमा पराजित चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहलाई पनि मनोनयन गरेका छैनन् ।

त्यस्तै, शेखर कोइराला समूहका महामन्त्री उम्मेदवार मिनेन्द्र रिजाल र विमलेन्द्र निधि समूहका महामन्त्री उम्मेदवार राजाराम कार्कीलाई पनि मनोनयन गरेका छैनन् । तर सहमहामन्त्रीमा पराजित शाही मात्र केन्द्रीय सदस्यमा मनोनित भएका छन् । सहमहामन्त्रीमा पराजित ११ जनामा अहिलेसम्म केन्द्रीय सदस्यमा मनोनित हुने शाही एक्लो हुन् ।

काँग्रेसमा १४ औं महाधिवेशनपछि उपसभापति पूर्णबहादुर खड्काको पजनी अनुसार निर्णय भइरहेको छ । शाहीलाई पनि उपसभापति खड्काकै जोडबलमा केन्द्रीय सदस्यमा मनोनित गरिएको बुझिएको छ । काँग्रेसका एक पदाधिकारीले भने ,‘विधि–विधानभन्दा पनि पूर्णबहादुर खड्का १३ औं महाधिवेशनपछिको शेरबहादुर देउवाको लयमा चल्न खोज्नु भएको छ ।’