जितनारायण भन्छन्- सिडियोले रविलाई सघाए, हामीमाथि विभेद भयो - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

जितनारायण भन्छन्- सिडियोले रविलाई सघाए, हामीमाथि विभेद भयो



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेक कुनै पनि दल तयार नभएपछि चितवन–२ मा सर्वदलीय बैठक स्थगित भएको थियो । सोमबार बिहान सर्वदलीय बैठक बस्ने र मतगणना सुरू गर्ने तयारी छ ।

बैठकमा बस्न अस्वीकार गरेका रास्वपाबाहेकका दलहरूले प्रमुख जिल्ला अधिकारीले रवि लामिछानेलाई सघाएको र आफूहरूलाई विभेद गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले आफूहरूलाई प्रमुख जिल्ला अधिकारीले विभेद गरेको र रविलाई सपोर्ट गरेको बताए ।

“राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक हामी अधिकांश दल एक ठाउँमा छौँ । प्रमुख जिल्ला अधिकारी नै बैठकमा सहभागी नहुने, शान्ति सुरक्षाका एसपी नै बैठकमा सहभागी नहुने अनि होहल्ला गरेको छ, यस्तो पनि हुन्छ,” श्रेष्ठले भने ।

रास्वपाका सभापति रवि लामिछानेले सबैजना तयार नभएपछि बैठक बस्न नसकेको बताए । “उहाँहरू सबैजना बैठकका तयार हुनुभएन । उहाँरूले प्रमुख जिल्ला अधिकारी, एसपी माग गर्नुभयो ।” उनले भने ।

हिजो सर्वदलीय बैठकको तयारी भइरहेको रास्वपाका समर्थकले नाराबाजी गरेका थिए । उनीहरूले मतगणना स्थलबाहिर नाराबाजी गरेका थिए । पछि रवि आफैँ पुगेर नाराबाजी नगरिदिन आग्रह गरेपछि मात्र उनीहरू शान्त बनेका थिए । उनले समर्थकको नाराबाजीले आफू अप्ठेरोमा परेको बताएका थिए ।

“तपाईंहरू मलाई माया गर्नुहुन्छ, मेरो हित चाहानुहुन्छ भने नाराबाजी नगरिदिनुहोला । नाराबाजीले मलाई धेरै समस्या पारिसक्यो,” रविले समर्थकसँग भनेका थिए । पहिलेदेखि असन्तुष्ट रहेका दलहरू नाराबाजीपछि झन् आक्रोशित बनेका थिए ।