चीनमा भेटियो नयाँ भाइरस ‘निओ कोभ’: चिनियाँ वैज्ञानिकले दिए यस्तो चेतावनी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

चीनमा भेटियो नयाँ भाइरस ‘निओ कोभ’: चिनियाँ वैज्ञानिकले दिए यस्तो चेतावनी



(एजेन्सी)वुहान : चीनको वुहान शहरका वैज्ञानिकहरूले विश्वमा नयाँ कोरोना भाइरस ‘निओ कोभ’ निकै खतरनाक भएको चेतावनी दिएका छन्।

उनीहरूले यो नयाँ कोरोना दक्षिण अफ्रिकामा भेटिएको बताएका छन्।

यो नयाँ कोरोना भाइरस अत्यन्तै संक्रामक भएको र यसले ३ संक्रमित विरामीमध्ये १ जनाको ज्यान जान सक्ने उनीहरूले बताएका छन्।

यद्यपि रूसी वैज्ञानिकहरूले नियो कोभ कोरोना भाइरस नयाँ नभएको दाबी गरेका छन्। उनीहरूले नयाँ कोरोना भाइरस अझै मानिसमा नफैलिएको बताएका छन्।

रूसी समाचार संस्था स्पुतनिकका अनुसार यो निओ कोभ कोरोना भाइरस मर्स कोभ भाइरससँग सम्बन्धित छ। सबैभन्दा पहिलोपटक यसको प्रकोप सन् २०१२ र २०१५ मा पश्चिम एसियाली देशहरूमा पत्ता लागेको थियो।

यो सार्स-कोभ-२ सँग मिल्दोजुल्दो छ, जसले मानिसमा कोरोना भाइरसको संक्रमण निम्त्याउँछ। दक्षिण अफ्रिकामा निओ कोभ चमेरोमा देखिएको छ र यो हालसम्म पशुपक्षीमा मात्र देखिएको छ ।

बायोरेक्सिभ वेबसाइटमा प्रकाशित अनुसन्धान अनुसार निओ कोभ र यसको नजिकको सहयोगी पिडिएफ-२१८०-कोभले मानिसलाई संक्रमित गर्न सक्छ।

वुहान विश्वविद्यालय र चाइना एकेडेमी अफ साइन्सेजका अनुसन्धाताहरूका अनुसार यो नयाँ कोरोना भाइरसले मानव कोषिकालाई संक्रमित गर्न एउटा मात्र उत्परिवर्तन (म्युटेशन) आवश्यक छ।

निओ कोभ भाइरसमा मर्सका जस्तै धेरै बिरामीको मृत्यु हुने अनुसन्धानमा उल्लेख छ। यो संख्या प्रति ३ बिरामीमा १ हुन सक्छ।

निओ कोभ भाइरसमा हालको सार्स-कोभ-२ कोरोना भाइरसका गुणहरू छन्‚ जसले यसलाई अत्यधिक संक्रामक बनाउँछ।

यस सम्बन्धमा रूसको सरकारी भाइरोलोजी अनुसन्धान केन्द्रले बिहीबार एक विज्ञप्ति जारी गर्दै भेक्टर रिसर्च सेन्टर निओ कोभबारे चिनियाँ अनुसन्धानकर्ताहरूले सङ्कलन गरेको तथ्याङ्कसँग परिचित रहेको बताएको छ।

यद्यपि पश्चिमा वैज्ञानिकले चिनियाँ वैज्ञानिकका भनाइलाई आँखा चिम्लेर समर्थन गर्न नहुने बताएका छन्। वुहानबाट फैलिएको महामारीका बारेमा अनुमान गर्न नसकेको उनीहरूको भनाइ छ।

ओमिक्रोनको नयाँ उपप्रजाति फेला

ओमिक्रोनको नयाँ उपप्रजाति (बीए.२) फेला परेको छ। यो निकै खतरनाक मानिएको छ। यो आरटी-पिसिआरबाट पनि सजिलै पत्ता लगाउन सक्दैन। यो नयाँ उपप्रजाति ४० देशमा फैलिसकेको छ।