छोरालाई ब्लड क्यान्सर: आँशु झार्दै बुवाले भने उपचार खर्च छैन, अब कस्ले बचाउला ? - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

छोरालाई ब्लड क्यान्सर: आँशु झार्दै बुवाले भने उपचार खर्च छैन, अब कस्ले बचाउला ?



कैलाली । गत जेठ महिना देखी बिरामी परेका उनको धेरै ठाउँमा चेकजाच र उपचार गरे पनि स्वास्थ्यमा सुधार भएन । परिवार सँग भएको सबै पैसा पनि सकियो । अन्ततः गत असारमा धनगढीको एक अस्पतालले ब्लड क्यान्सरको आशङ्का गर्दै भरतपुर क्यान्सर अस्पताल चितवन रेफर गर्‍यो ।

उक्त अस्पतालले पनि उनलाई क्यान्सर भएको बताए पछि सँगै गएका दाजु आकाशबाट खसे झैँ भए । अस्पतालले उनलाई क्यान्सर भएको र उपचार खर्च १५ लाख लाग्ने भने पछि पैसा अभावमा उपचार नै नगरी उनलाई घर फकाईयो । खर्च अभावमा विगत ३ महिना देखी उनलाई घरमै राखिएको छ । उनी हुन बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित पश्चिम मुक्त कमैया टोलका २० वर्षीय जीवन चौधरी, विगतमा अरूको घरमा कमैया बसेका बाबु र ओरकान्नी भएर काम गरेकी आमा सरकारले कमैया मुक्तिको घोषणा गरे सँगै सरकारले बनाई दिएको सानो घरमा बसिरहेका छन् । उनीहरू सँग सरकारले प्रदान गरेको ५ कट्ठा जग्गा बाहेक अन्य चल अचल सम्पत्ति पनि छैन । दिनभर अर्काको मजदुरी गरी छाक टार्ने परिवारलाई १५ लाख रुपैयाँ उपचार खर्च जुटाउनु एका देशको कथा जस्तै छ ।

ऋण निकालेको २÷३ लाख उपचार तथा रोगको पहिचान गर्दै सकियो । बाबु फुलराम चौधरीले आखाभरी आशु पार्दै भने छोरोलाई अव कसले बचाउला ? आफ्नै अगाडी छोराको मृत्यु देख्ने मन कसको हुन्छ र । त्यस्तै भएको छ, उनका बाबु फुलरामलाई पनि, छोराको पिरले उनीमा बेलाबेला आत्महत्याको सोच समेत पलाउने गरेको छ । बाबुको मात्र होइन उनकी आमाको हालत पनि चिन्ताले दिन प्रतिदिन बिग्रँदै जान थालेको छ । दिनभर मजदुरी गरेर परिवारको छाक टार्ने उनका दाजु भगबन चौधरीको दैनिकी पनि भाइको हेरचाह मै बित्ने गरेको छ । भाइ बाच्ला भन्ने आस त छैन उनले रुन्चे स्वरमा भने, उपचारका लागि त्यत्रो पैसा कहाँबाट ल्याऊ ? रकम अभावले उपचार नहुने देखिएपछि परिवारले उनलाई घरमै जडीबुटी खुवाउन थालेका छन् ।

शरीर र आँखा समेत धेरै पहेँलो देखिएको छ तर राम्रो सँग जन्डिस चेक गराउने समेत परिवारमा पैसा छैन । कालिका माध्यमिक विद्यालय नौनियामा कक्षा १० मा पढ्ने उनीमा बाच्ने आस पूर्ण रूपमा मरेको छ । कुन दिन मरिन्छ भन्ने डरले उनीमा डेरा जमाएको छ । हामी छौ भनेर आश्वासन दिने समेत कोही छैनन् उनी सँग, क्यान्सरको पिडा भन्दा मर्ने पिडाले उनीलाई बढी गलाउँदै गएको छ । गरिबको बच्चालाई नै भगवानले किन यस्तो गर्छ ? उनले डाको छोडेरै भने,… मुखबाट निस्किएको आक्रोशको आवाज र आँखाबाट झरेका आशुले उनको मन हल्का पार्न बाहेक के नै हुन्थ्यो र, सबैले सहयोग गरे त बाचिहाल्थे की, बोली समेत स्पष्ट नहुने गरी उनको आवाज निस्कियो । सबैले सहयोग गरे बाच्ने आस त उनीमा पनि छ तर सहयोगी मनहरू भेट्न निकै मुस्किल छ आज भोलि ।

एक एक थोपाले समुन्द्र बन्ने भएकाले सबैले सक्दो सहयोग गरे उनको उपचार गर्न सकिने उनका शिक्षक प्रमोद साउद बताउँछन् । आफ्नो विद्यार्थी क्यान्सरको पिडाले छट्पटाउदा शिक्षकको मनमा पनि पहिरै जाँदो रहेछ । शिक्षक साउदको अगुवाइमा उनकै कक्षाका साथीहरूबाट सङ्कलित रकम र उज्यालो नौनिया युवा समाजले दिएको सहयोग रकम ७ हजार ५ सय ७५ रुपैयाँ समाजका संरक्षक एमं शिक्षक साउदले शनिवार ब्लड क्यान्सर पीडित चौधरीलाई हस्तान्तरण गरे । यो सानो रकम सहयोग पाउँदा समेत परिवारले केही राहतको अनुभूति गरेको छ ।

अन्य उपचारका लागि रकम अपुग हुने भए पनि जन्डिस चेकजाच गर्न भने सकिने बाबु फुलरामले बताए । क्यान्सर पीडित चौधरीको उपचारका लागि सहयोग रकम सङ्कलन गर्नुपर्ने भएकाले सबैले सक्दो सहयोग गर्न शिक्षक साउदले आग्रह गरेका छन् । उनका बाबु फुलरामले पनि मानवताको नाताले सबैले सहयोग गरी आफ्नो छोराको ज्यान जोगाई दिन सबैलाई आग्रह गरेका छन् ।