भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु :कुलमान - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु :कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिनु भएको छ ।

कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको पनि स्पष्ट पार्नुभयो । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि उहाँले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको बताउनुभएको हो ।

कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भएँ भन्दैमा जथाभावी आरोप नलगाउन पनि सचेत गराउनुभयो । उहाँले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानवीन गरेर सत्यतथ्य बाहिर ल्याउन दुईवटा छानवीन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि स्पष्ट पार्नुभयो ।

यता समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाउनु भयो । उहाँले त्रिशुली जलविद्युत् आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ? भनि गम्भीर प्रश्न पनि उठाउनु भयो । सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दाबी गर्दै तत्काल छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्म नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन् । यता, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने नियम अनुसारनै तिर्नुपर्ने शुल्क तिर्न उद्योगी/व्यवसायीहरुलाई पत्राचार गरिएको बताउनुभयाे ।