झापा ३ मा एमालेबाटै राजेन्द्र लिङदेनलाई धोका - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

झापा ३ मा एमालेबाटै राजेन्द्र लिङदेनलाई धोका



राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेबाट नै धोका भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा झापा क्षेत्र नम्बर ३ बाट बागी उठाएको खुलेको छ ।

ओलीकै निकट मानिने जिल्ला कमिटीका सदस्यले बागी उम्मेदवारी दिएका थिए । पछिल्लो विकशित घटनाक्रम अनुसार एमाले कार्यकर्ताहरु भित्रभित्रै लिङदेनविरुद्ध बागीको पक्षमा उभिन थालेपछि यस्तो रहस्य खुलेको हो ।

एकातिर नेकपा एमालेका जिल्ला नेता डम्बरबहादुर गिरीले आफ्नो उम्मेदवारीमा क्षेत्र नम्बर ३ को एमाले पार्टीको साथ रहेको बताएका छन् भने अर्कातिर ओली नै भित्रभित्र उनको पक्षमा लागेको चर्चा चलिरहेको छ ।

सूर्यमुखी चुनावचिन्ह लिएर एमालेबाट बागी उम्मेदवारी दिएका गिरीले प्रचार प्रसार तिब्र बनाउँदा एमालेकै कार्यकर्ता उनको पक्षमा खुल्न थालेका छन् । राजेन्द्र लिङदेन र कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धामा उत्रिएका एमाले नेता गिरीले आफूले सबै एमाले नेताहरूको साथ् लिएर उम्मेद्वारी दिएको बताउने गरेका छन् ।

एक नेताका अनुसार कतिपय एमाले कार्यकर्ताले खुलेरै गिरीलाई समर्थन गरिरहेका छन् भने भित्रभित्रै सुर्य जस्तै देखिने सूर्यमुखीमा मतदान गर्न सिकाइरहेका छन् । सिटौलाका लागि तनाव बनिरहेको यो क्षेत्रमा गिरीले एमालेका भोट काट्ने भएपछि सिटौलालाई पनि केहि राहत मिलेको बताइन्छ ।

केपी ओलीका अत्यन्त निकट मानिएका ३९ वर्षका युवा डम्बरबहादुर गिरी हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष समेत हुन्। ०७४ को चुनावमा हल्दीबारीको अध्यक्षमा राप्रपाका रविन्द्र लिङदेनले ३ हजार ९४३ मत पाएर जित्दा एमालेबाट गिरीले ४ हजार ३८६ मत पाएर उपाध्यक्ष जितेका थिए।

पाँच वर्षसम्म गाउँपालिकामा रविन्द्रसँगै काम गरेका गिरी गत बैशाखको चुनावमा उनैसँग पालिका अध्यक्षमा पराजित बनेका हुन्। लिङदेनले ६ हजार ८५६ मत ल्याएर जिते भने एमाले नेता गिरी ४ हजार ६६६ मतका साथ दोस्रो भए।

राजेन्द्र लिङदेनको घर रहेको हल्दीबारी गाउँपालिकाको प्रमुखमा कांग्रेसले २ हजार ७५८ मत पाएको थियो भने माओवादीले १ हजार १४९ मत पाएको थियो।

एमाले नेता गिरीलाई स्थानीय चुनावमा पराजित गर्ने रविन्द्र लिङदेन नाताले राजेन्द्र लिङदेनको भाइ हुन्। भाइसँग स्थानीय चुनावमा हारेका गिरीले अब प्रतिनिधिसभाको चुनावमा दाजुसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्, त्यही पनि बागी उम्मेदवारका रुपमा।