झापा पुगेर प्रधानमन्त्रीले गरे सरकार ढाल्ने कुरा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

झापा पुगेर प्रधानमन्त्रीले गरे सरकार ढाल्ने कुरा



झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले गृहनगर झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन् । आइतबार झापाको दमकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

नेकपाका अध्यक्ष समेत रहेका ओलीले विकासको रफ्तार रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने षड्यन्त्र भएको बताए । सरकार ढाल्न कसले खोजेको स्पष्ट नपारे पनि उनले सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेको तर्क गरे ।

सरकार दुई वर्ष पुगेपछि अविश्वासको प्रस्ताव संसदमा पेश गर्न सकिने संसदीय व्यवस्था छ । शनिबार ओलीले संसदमा सरकार दुई वर्ष पुगेको अवसरमा लामो सम्बोधन गरेका थिए ।

षड्यन्त्र रचेको भरमा देश विकासको गति नरोकिने तर्क गर्दै उनले भने, म ५० वर्षदेखि निरन्तर विभिन्न पक्षसँग लड्दैअघि बढिरहेको छु । सरकार विचलित नभई अघि बढ्छ ।’

उनले अगाडि थपे, ‘५० वर्षअघि यहीँ जिल्लामा ज्यान हत्केलामा राखेर निरंकुश शासकविरुद्ध लडाइँ सुरु गरेको हुँ । २० वर्ष पञ्चायतविरुद्ध लडें। १४ वर्ष जेल जीवन बिताए। ६ वर्ष भूमिगत हुनुपर्‍यो। १८ वर्ष राजतन्त्रविरुद्ध लड्नुपर्‍यो ।’

उनले लोकतान्त्रिक व्यवस्थामा पनि संघर्ष समाप्त नभएकोले आफू लडिरहेको बताए । उनले भने, ‘अहिले पनि लडिरहेको छु। ४६ वर्षदेखि रोगसँग लडिरहेको छु। त्यसैले मलाई रोग, जनविरोधी, प्रतिक्रियावादीहरूसँग लड्न डर लाग्दैन ।’

आफू भ्रष्टाचार रोक्न अहिलेसम्म बाँचिरहेको उनको तर्क थियो । ‘मलाई केही गर्दा रोक्न नसक्नेहरू मेरो मृत्यु पर्खेर बसेका होलान्। तर, म अझै केही वर्ष बाँच्छु,’ उनले भने, ‘देशमा भ्रष्टाचार रोक्न र भ्रष्टाचार गर्न नदिन म बाँचिरहेको छु ।’