झापामै गर्जिए मेटमणि: 'ओली गणतन्त्र नेपालको सबैभन्दा ठूलो दुश्मन हुन्' - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

झापामै गर्जिए मेटमणि: ‘ओली गणतन्त्र नेपालको सबैभन्दा ठूलो दुश्मन हुन्’



काठमाडौं- सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले केपी ओली संघीय गणतन्त्र नेपालको सबैभन्दा ठूलो दुश्मन भएको आरोप लगाएका छन् ।

पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्न गठबन्धन बनाउनु परेको बताएका हुन् ।

निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने बताएका उनले केपी ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र होइन लोकतन्त्र नै धरापमा पर्ने बताए । दुई तिहाइ नजिकको बहुमतलाई ओलीले दुरुपयोग गरेर लोकतन्त्र मास्न खोजेकाले आफूहरुले विद्रोह गर्नु परेको पनि उनले प्रष्ट पारे ।

आगामी निर्वाचनबाट एमालेको अस्तित्व नै संकटमा पर्ने मन्त्री चौधरीको जिकिर थियो । समानुपातिक व्यवस्थाका कारण एमालेका केही सांसद रहे पनि प्रत्यक्षमा उसलाई खोज्नुपर्ने अवस्था आउनुपर्ने बताए ।

दमकमा निर्माणाधीन दमक भ्यू टावरलाई स्थानीय जनताको आवाजलाई समेत बुझ्दै बिजनेस कम्प्लेक्सका रुपमा स्थापित गर्ने प्रकृया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन गरिने बताए ।

आजै मन्त्री चौधरीले फाल्गुनन्द सभा गृहका रुपमा शिलन्यास भइ नाम परिवर्तन भएको दमक सभा गृह, दमक १० स्थित इन्द्रेणी ताल, कमल गाउँपालिका वडा नं ५ स्थित लामो समयदेखि बन्न नसकेको आदिवासी रंगशाला तथा स्मृति पार्कको स्थलगत निरीक्षण गरेका छन् ।

उनले बजेट नपरेका दर्जनौँ योजनाहरुमा समेत कुनै न कुनै रुपले बजेटको बन्दोबस्ती गर्ने बताए ।