प्रदेश सभाले पारित गरेका दुई अध्यादेश प्रदेश प्रमुख झाले गरिदिए फिर्ता - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

प्रदेश सभाले पारित गरेका दुई अध्यादेश प्रदेश प्रमुख झाले गरिदिए फिर्ता



जनकपुरधाम- प्रदेश २ प्रमुख डा. राजेश झा अहिराजले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई विधेयक फिर्ता पठाएका छन्।

प्रदेश प्रमुख झाले प्रदेश सभाबाट पारित भई आएका २ वटा विधेयक ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण गरेका हुन्। त्यसैगरी उनले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका छन्।

प्रदेश प्रमुख झाले यसपछि पनि उक्त दुईवटा विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए। यी दुई वटा विधेयकमा केही बुँदा परिमार्जन गर्नुपर्ने भएको हुँदा फिर्ता पठाईएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयकमा आवश्यक १३ बुँदे र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समेत ११ बुँदे सुझावसहित परिमार्जन गरेर विधेयक ल्याउन भन्दै प्रदेशसभामा फिर्ता पठाइएको छ।

प्रदेश प्रमुख झाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम अन्य दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्।

प्रदेशसभाले पारित गरेर प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाउने व्यवस्था संविधानमा छ। यसरी प्रदेशसभाले पारित गरी पठाएका विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि लागू हुने गर्दछ।