एमालेसँग एकता गर्ने झलनाथको संकेत - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

एमालेसँग एकता गर्ने झलनाथको संकेत



काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता हुनसक्ने बताएका छन् ।

काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेटमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले एमालेभित्र ओली प्रवृत्तिविरुद्ध संघर्ष गरिरहेको समूहसँग कार्यगत एकता गर्न सकिने बताएका हुन् ।

ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने क्रममा पार्टी नै विभाजन भए पनि एमालेभित्र ‘वाम एकता आवश्यक छ’ भन्ने शक्ति रहेको भन्दै नेता खनालले भने– ‘हामीले ओली प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौं । यसको मतलव एमालेमा रहेका सबै बेठीक भन्ने होइन । एमालेभित्र पनि इमानदार कम्युनिष्ठ नेता कार्यकर्ता छन् । उनीहरुले वाम एकता आवश्यक छ भनिरहेको छन् । त्यसैले उनीहरुसँग आगामी निर्वाचनमा कार्यगत एकता गरेर अघि बढ्न सन्छि ।’

स्थानीय तह निर्वाचनका क्रममा पाँच दलीय गठबन्धन बनेको भए पनि कतिपय ठाउँमा पार्टीले एमालेसँग पनि तालमेल गरेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आवश्यकताअनुसार सबै शक्तिसँग कार्यगत एकता गर्न सकिने बताए ।

निर्वाचनमार्फत अधिकतम जित हात पार्नका लागि सबैखाले सम्भावनाहरु सदुपयोग गर्नुपर्ने भन्दै नेता खनालले धेरैभन्दा धेरै सिट जित्ने सन्दर्भमा एमालेसँग पनि कार्यगत एकता गर्नका लागि तयार हुनेपर्ने धारणा राखे ।