झलनाथले भने : अब प्रचण्ड प्रधानमन्त्री बन्दैनन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

झलनाथले भने : अब प्रचण्ड प्रधानमन्त्री बन्दैनन



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चन्द्रगिरीमा प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेताहरूको बैठकका बारेमा आफूलाई जानकारी नरहेको बताएका छन् ।

नेपाली रेडियो नेवटर्कमा  कुरा गर्दै नेता खनालले चन्द्रागिरी बैठकका बारेमा कुनै पनि कमिटीमा छलफल नभएको बताए । ‘चन्द्रागिरीमा के भयो मलाई थाहा छैन । यो कार्यशैली ठीक छैन । कमिटीमा छलफल हुन बाँकी छ’, उनले भनेका छन् ।

नेता खनालले आफू कुनै पनि गुटमा नरहेको बताएका छन् । उनले अर्का वरिष्ठ नेता मधवकुमार नेपालको गुटलाई आफूले साथ नदिएको पनि बताए ।

‘म गुट बनाउने कुरामा छैन । गुट बनाउने कुरा अपराध हो । माधव नेपाल, बामदेव गौतम र मेरो गुट छैन’, उनले भने, ‘मेरा आफ्नै स्वतन्त्र विचार हुन्छन् । सरकारविरुद्धको मोर्चामा छैन ।’

नेकपाका नेता खनालले प्रधानमन्त्री ओलीविरुद्ध मोर्चा गठन नभएको बताए । ‘ओलीविरुद्ध कुनै पनि मोर्चा गठन हुने सम्भावना पनि छैन’, उनले भनेका छन् ।

ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा कुनै पनि गतिविधि नभएको खनालले बताए । ‘ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेकारको कुरा हो । हल्ला हो । यसको पछाडि नलाग्नुस्’, उनले भने, ‘प्रधानमन्त्री ओलीलाई हटाउने कुनै पनि सम्भावना छैन । बिकल्प छैन ।’

पार्टी एकीकरणका बेला ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको गोप्य सहमति कार्यान्वयन हुनुपर्ने वरिष्ठ नेता खनालले बताए । ‘दुई पार्टी बनेका बेला केही सहमति बनेका होलान्’, उनले भने, ‘त्यो कार्यान्वयन गर्ने दुई अध्यक्षको कुरा हो ।’