सङ्कटमा माधव नेपाल, झलनाथ खनाल 'वरिष्ठ नेता' बन्ने - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

सङ्कटमा माधव नेपाल, झलनाथ खनाल ‘वरिष्ठ नेता’ बन्ने



काठमाडौँ— पूर्वएमाले र माओवादीबीच एकता भई जन्मिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले झण्डै १४ महिनापछि महत्वपूर्ण संगठनहरुको नेतृत्वको जिम्मेवारी बाँडफाँड गरेसँगै माधव कुमार नेपालको ‘वरिष्ठ नेता’ को वरियता संकटमा परेको छ।

शुक्रबारको नेकपाको सचिवालय बैठकले पार्टीका ३३ वटा विभागमध्ये संगठन विभागको प्रमुखको जिम्मेवारी पूर्व एमालेका उपाध्यक्ष बामदेव गौतमलाई र स्कूल विभागको प्रमुखको जिम्मेवारी पूर्व एमालेका महासचिव ईश्वर पोखरेललाई दिने निर्णय गरेसँगै एकताका बेला आफ्नो ‘वरिष्ठ नेता’को वरियता खोसिएको भन्दै असन्तुष्ट नेता झलनाथ खनालले त्यो आफूलाई दिन औपचारिकरुपमा प्रस्ताव पेश गरेपछि नेता नेपालले एकताका बेला प्राप्त गरेको ‘वरिष्ठ नेता’को वरियता संकटमा परेको छ।

सचिवालयका एक सदस्यका अनुसार बैठकमा नेता खनालले पूर्व एमालेमा रहँदा नेता नेपाल भन्दा आफू वरिष्ठ रहेको र त्यो आफ्नो ‘पोजिसन’ एकीकृत पार्टीमा पनि रहनु पर्ने करिव १४ महिना अघिको माग कार्यान्वयनका लागि औपचारिक प्रस्ताव पेश गरेका थिए।

नेता खनालको उक्त प्रस्तावमाथि विस्तृत छलफल गरी अर्को सचिवालय बैठकमा टुंगो लगाउने आश्वासन समेत अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिएका छन्।

त्योसँगै नेकपामा नेता नेपाललाई एक्लाउने प्रयास भइरहेको अड्कलबाजी सुरु भएको छ।  केही दिन अध्यक्ष दाहालले आफू केही समयपछि प्रधानमन्त्री बन्ने निश्चित भएको र पार्टीको अध्यक्षको जिम्मेवारी तपाईले नै लिनु पर्छ भन्दै गरेको प्रस्ताव नेपालले स्वीकार गरेको शंकामा रहेका अध्यक्ष ओलीले नेता नेपाललाई अलग्याउने प्रयास गरेको पार्टीका एक उच्च नेताले बताएका छन्।

त्यसैले तेस्रो वरियतामा रहेका खनाललाई दोस्रो वरियतामा राख्न ओलीले दाहाललाई पनि सहमत गराएको बुझिएको छ। तर नेता नेपालले आफूलाई पार्टीको तेस्रो वरियतामा राख्ने प्रस्ताव सहजै स्वीकार गर्ने स्थिति नरहेको ती नेताको भनाइ छ।

यद्यपि दुई अध्यक्ष ओली र दाहाल मिलेर बहुमत जुटाएको खण्डमा नेपालको ‘वरिष्ठ नेता’को वरियता खनाललाई दिन अप्ठ्यारो नपर्ने बताउँछन् उनी।

पार्टीको उपाध्यक्ष पद र संगठन विभागको प्रमुखको जिम्मेवारी दिने तयारी गरेर नेता गौतमलाई आफ्नो कित्तामा ल्याउन सफल ओली अर्का अध्यक्ष दाहालसँगको सहमतिमा नेपालको ‘वरिष्ठ नेता’ वरियता खोस्नेतर्फ लागेको समेत विश्लेषण हुन थालेको छ।

कतिपयले भने अध्यक्ष ओलीले आफू अल्पमतमा पर्ने खतराबाट जोगिन सबै नेताहरुलाई मिलाएर जाने क्रममा असन्तुष्ट नेता खनालको पनि चित्त बुझाउने प्रयासमा जुटेको र उनलाई दोस्रो नम्बरमा ल्याउने योजना उनले बनाएको बताउँछन्।

तर पार्टी र सरकारका कामकारवाही अघि बढाउन नेता नेपालको सहमति ओलीलाई आवश्यक पर्ने छ। खासगरी सरकारले भ्रष्टाचार अन्त्य गर्नु पर्ने, पूँजिको सदुपयोग गर्नु पर्ने, विधिमा आधारित पार्टीका कामकारवाही हुनुपर्ने, एक व्यक्ति एक पदको माग कार्यान्वयन हुनुपर्ने अडान दोेहोराउँदै आएका नेता नेपालले आफ्नो ‘वरिष्ठ नेता’को वरियता खनाललाई सजिलै दिने छैनन्।