कानुन विपरीत झलनाथले सरकारी ढुकुटीबाट लिए साढे ५८ लाख - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

कानुन विपरीत झलनाथले सरकारी ढुकुटीबाट लिए साढे ५८ लाख



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई सरकारले कानुन विपरीत ५८ लाख ५३ हजार रुपैयाँ दिएको खुलेको छ । खनालको उपचारका लागि सरकारले दुई पटक गरेर कानुन विपरीत साढे ५८ लाख रुपैयाँ निकासा गरेको खुलेको हो ।

भैपरी आउने साधारण प्रशासन खर्च शीर्षकबाट रकमान्तर गरेर सरकारले उपचार खर्च दिएको छ । खनालले दुवै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचार गराएका थिए ।

सरकारले दुई किस्ता गरेर परराष्ट्र मन्त्रालयमार्फत साउन महिनामा ४८ लाख ५० हजार रुपैयाँ निकासा गरेको थियो भने असोजमा १० लाख ३ हजार रुपैयाँ प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ ।

खनालको उपचारका लागि रकमान्तर गरेर दुई पटक निकासा गरेको अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै करिब ३० लाख रुपैयाँ निकासा भइसकेको भेटिएको छ ।

पूर्वप्रधामनत्री खनाल मिर्गौला प्रत्यारोपण गरेर अहिले स्वास्थ्यलाभ गरिरहेका छन्। दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि बिलअनुसार रकम खर्चिएको थियो ।

२०७५, २ असोजदेखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएपनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ ।