झाडु बोकेर सरसफाईमा निस्किए कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

झाडु बोकेर सरसफाईमा निस्किए कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु



सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले विहीबार बुलबुलेको सरसफाई गरेका छन् । उनीहरुले सुर्खेतको मुख्य पर्यटकीय ठाउँ बुलबुलेको सरसफाई गरेका हुन् । मुख्यमन्त्री र मन्त्रीहरु नै झाडुु र सरसफाईका समान हातमा लिएर बुलबुले ताल र उद्यानको सरसफाईमा जुटेका थिए ।

कर्णाली प्रदेशको दोस्रो बैठकले श्रमको सम्मानका लागि प्रत्येक महिनाको १ गते र १५ गते श्रम गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अन्य मन्त्रीहरुको नेतृत्वमा कर्मचारी, शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयहरुले सरसफाई गरेका हुन् ।

मुुख्यमन्त्री शाहीले सोचाइमा परिवर्तन नआएसम्म विकास सम्भव नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी पछि परेको श्रम नगर्ने संस्कारको विकास भएर हो । हामीले आफू ठूला भएर अहिलेसम्म अरुलाई काम गराउन जान्यौैँ तर आफूले काम गरेनौँ । त्यस कारण हामीले क्याविनेटबाटै निर्णय गरेर हामी आफैँबाट श्रम गर्ने सुरुवात गरेका हाैँ ।’ उहाँले कर्णाली प्रदेशलाई सभ्यताको परिचय दिन पनि आवश्यक रहेको बताउनु भयो ।

सरसफाईमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसी, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहभागिता रहेको थियो ।