जर्मन लिगमा अचम्मको घटना - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

जर्मन लिगमा अचम्मको घटना



मैन्ज (एजेन्सी) /जर्मन बुन्डेसलिगामा गएरातीको खेलमा रेफ्रीले अनौठो निर्णय दिएका छन् । पहिलो हाफको अन्त्य पछि सबै खेलाडी मैदान छाडेर ड्रेसिङ रुम पुगेपछि रेफ्रीले खेलाडीहरुलाई मैदानमा बोलाएर मैन्जलाई पेनाल्टी दिएका थिए।

मैन्जको घरेलु मैदानमा फ्रेइजबर्गविरुद्धको खेलमा पहिलो हाफ सकिएको थियो। त्यतिकैमा रेफ्री गुइडो विङकमानले भिडियो असिस्टेन्ट रेफ्री (भार) सँग सम्पर्क गरेर पहिलो हाफमा भएको एउटा ह्यान्ड बलका लागि पेनाल्टी दिएका थिए ।

उनले मैदान छाडेर ड्रेसिङ रुम पुगेका खेलाडीलाई फिर्ता बोलाएर मैन्जलाई पेनाल्टी प्रहार गर्ने अवसर दिएका हुन् । घरेलु टोलीका मिडफिल्डर पाब्लो डी ब्लासिसले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेलमा अग्रता लिएका थिए। मैन्जले खेल दौरान ह्यान्डका लागि रेफ्री समक्ष अपिल गरेपनि रेफ्रीले त्यसलाई पेनाल्टी दिएका थिएनन् ।

मैन्जका फुल ब्याक ड्यानियल ब्रोसिन्कीको क्रस फ्रेइजबर्गका सेन्टर ब्याक मार्क ओलिभर केइम्फको हातमा लागे पनि रेफ्रीले खेल रोकेका थिएनन् । रेफ्रीको उक्त अनौठो निर्णय पछि समर्थकहरुले आक्रोशित हुँदै मैदानमा बोतल फालेपछि दोस्रो हाफ ढिलो गरि सुरु भएको थियो। डी ब्लासिसले दोस्रो हाफको ७८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको जित पक्का गरेका थिए ।