मन्त्री जीवनराम श्रेष्ठलाई बर्खास्त गर्न माग - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

मन्त्री जीवनराम श्रेष्ठलाई बर्खास्त गर्न माग



नियम पालना गर्न लगाउँदा भएको विवादमा सुरक्षा गार्डलाई थुन्न लगाउने मन्त्रीको राजीनामा माग गरिएको छ।

क्यानडाको भिसाका लागि बायोमेट्रिक विवरण दिन काठमाडौंको ठमेलस्थित छाया सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई सुरक्षा गार्ड शेरजंग गुरुङले लाइनमा बस्न लगाउँदा विवाद भएको थियो। मन्त्रीलाई दुर्व्यवहार गरेको भन्दै आइतबार उनलाई प्रहरीले पक्राउ गरेको थियो।

उनलाई तत्काल रिहा गर्न पूर्व सुरक्षाकर्मी परिषद्ले माग गरेको छ। सोमबार पत्रकार सम्मेलन गरी परिषद्ले मन्त्री श्रेष्ठको राजीनामा माग गरेको छ। परिषद्का अध्यक्ष कोमलबहादुर राउतले भने, “पूर्व सुरक्षाकर्मीमाथि गरिएको दुर्व्यवहार निन्दनीय छ, सुरक्षा गार्ड गुरुङलाई पक्राउ गर्न लगाउने मन्त्रीले राजीनामा दिनुपर्छ।”

सुरक्षा गार्ड गुरुङ दुई दिनदेखि प्रहरी हिरासतमा छन्। उनलाई तत्काल रिहा गर्न र मन्त्रीलाई कारबाही गर्न माग हुन थालेको छ।

सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठको विरोध भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री श्रेष्ठको राजीनामाको माग गर्न थालेका छन्।

अधिकारकर्मी चरण प्रसाईंले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न आग्रह गरेका छन्। “ड्युटीका गार्डलााई थुनाएर जीवनराम श्रेष्ठले अख्तियारको दुरूपयोग गरेका छन्,” प्रसाईंले भनेका छन्, “यस्ता मन्त्री कुनै पनि हालतमा पदमा रहिरहन मिल्दैन, तत्काल बर्खास्त गरियोस।”