नाकाबन्दीका नायक बने मन्त्री, के नेपाललाई खतरा छ ? - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

नाकाबन्दीका नायक बने मन्त्री, के नेपाललाई खतरा छ ?



काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिमण्डलमा एस जयशङ्करले सपथ लिएपछि नेपालमा बिहीबार बेलुकादेखि चर्चा चुलिएको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यम उनका चर्चाले तातेका छन्। जयशङ्कर नरेन्द्र मोदीको पहिलेको मन्त्रिमण्डलमा पूर्वविदेश सचिव थिए।

जयशङ्करले मोदीको पहिलो कार्यकालमा उनको विशेष दूतका रूपमा नेपालमा आएका थिए र केही राजनीतिक दलको असन्तुष्टि कायमै रहेकाले तत्काल संविधान घोषणा नगर्न आग्रह गरेका थिए।

जयशङ्कर भारतले २०७२ सालमा नेपालमाथि नाकाबन्दी लगाउनुभन्दा अघि नेपाल आएका थिए। उनलाई मोदीले आफ्नो विशेष दूत बनाएर नेपाल पठाएका थिए। नेपालका मुख्य राजनीतिक दलहरू संविधान जारी गर्न सहमत भएपछि भारतीय प्रधानमन्त्रीले विशेषदूत बनाएर उनलाई नेपाल पठाएका थिए। उनले संविधान घोषणा रोक्न दबाब दिएको तर नेताहरूले नमानेको त्यतिबेला चर्चा चुलिएको थियो।

जयशङ्करले त्यसबेला तत्कालीन राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री स्व. सुशील कोइरालासहित प्रमुख दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए। उनी भदौ ३१ गते काठमाडौँ आएका थिए भने असोज ३ गते संविधान जारी गरिएको थियो। उनको रिपोर्टअनुसार नै भारतले नाकाबन्दी लगाएको नेपालीको बुझाइ रहँदै आएको छ।

भाजपाले बहुमतले चुनाव जितेपछि बिहीबारबाट मोदीले आफ्नो दोस्रो कार्यकाल सुरु गरेका छन् । जयशङ्कर ५८ सदस्यीय मन्त्रीमण्डलको सूचीको ११ औँ बरियतामा छन्। उनको मन्त्रालयको टुङ्गो नलागेको भएपनि विगतको अनुभवलाई हेर्दा उनी विदेशमन्त्री नै हुने सम्भावना बढी छ। तर कतिपय भारतीय पत्रिकाले उनी वाणिज्यमन्त्री हुने सम्भावना समेत रहेको बताइएका छन्। यी दुवैमा जे भए पनि ती क्षेत्र नेपालसँग सोझै सरोकार राख्‍ने विषय हुन्।

यस्तो छ जयशङ्करको पृष्ठभूमि

उनी जनवरी २०१५ देखि जनवरी २०१८ सम्म भारतका विदेश सचिव थिए। उनी सन् १९७७ ब्याचको भारतको करियर डिप्लोम्याट हुन्। उनी त्यसअघि अमेरिकाको लागि भारतको राजदूत (२०१४–२०१५ ), चीनको लागि भारतीय राजदूत (२००९–२०१३), चेक रिपब्लिकका लागि भारतीय (२००१–२००४) र सिङ्गापुरका लागि भारतको हाइकमिसनर (२००७–२००९) भइसकेका व्यक्ति हुन्।

उनले इन्डो-युएस सिभिलियन न्यूक्लियर एग्रिमेन्टमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। अवकाश पाएपछि उनी टाटा सन्सको ग्लोबल कर्पोरेट अफेयर्सका अध्यक्ष भएका थिए। उनले पद्मश्री पुरस्कार पाइसकेका छन् जुन भारतको चौथो सबैभन्दा ठूलो नागरिक पुरस्कार हो।  उनी भारतमा मन्त्री भएपछि नेपालमा सर्वसाधारणले मात्रै नभएर पूर्वप्रधानमन्त्रीसम्मले टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले ट्वीट गरेका छन्,‘‘नेपालको संविधान जारी हुने बेला नेपाल आएर चर्चामा रहेका तत्कालीन भारतीय विदेश सचिव एस. जयशङ्कर अहिले मन्त्री बनेकाले दुई देशबीचको सम्बन्ध आगामी दिनमा कस्तो बन्ला स्वाभाविक जिज्ञासाको विषय बनेको छ। दुवै पक्षले पाठ सिकेर अघि बढौँ।”
बीबीसीले जनाएअनुसार बिहीबार गठित मोदी मन्त्रिपरिषदमा परेका जयशङ्कर त्यत्तिकै परेका होइनन्। उनी भरोसा गर्न सकिने र आवश्यक व्यक्ति पनि हुन्। उनका पिता के सुब्रमण्यम पनि एक कुटनीतिज्ञ हुन्। उनी भारतका प्रमुख रणनीतिक विश्लेषकका रूपमा चिनिन्थे।

हालैको लोकसभा चुनावमा स्वास्थ्यका कारण विदेशमन्त्री सुष्मा स्वराजले चुनावमा भाग लिएकी थिइनन्। यसले गर्दा मोदीको नयाँ मन्त्रिमण्डलमा जयशङ्करलाई अघि सारिएको हुन सक्ने आकलन पनि भारतीय सञ्चारमाध्यममा छ। जयशङ्कर लोकसभा चुनाव लडेका थिएनन्। त्यसले गर्दा भारतको संविधानअनुसार उनी दुई वर्षभित्र राज्यसभाको चुनावमा भाग लिनुपर्नेछ।

मोदीसँग पहिल्यैदेखिको निकटता

मोदी पहिलो कार्यकालमा सरकारमा आएको ८ महिनाभित्रै तत्कालीन विदेश सचिव सुजाथा सिंहलाई हटाएर जयशङ्करलाई विदेश सचिव बनाएका थिए। सुजाथाको नियुक्ति डा. मनमोहन सिंह सरकारको पालामा भएको थियो। कार्यकाल नसकिँदै उनलाई हटाइएकोमा विवाद समेत भएको थियो। त्यतिबेला डा. मनमोहन सिंहले पनि २०१३ मा जयशङ्करलाई नै विदेश सचिव नियुक्त गर्न चाहेका थिए तर अन्तिम समयमा उनले सुजाथालाई सो पद दिएको कुरा पनि उठेको थियो।

जयशङ्करले दिल्लीस्थित सेन्ट स्टिफन्स कलेजबाट राजनीति विज्ञानमा एमफिल र जवाहरलाल विश्वविद्यालयबाट पीएचडी। उनी परमाणु कुटनीति विशेषज्ञ पनि हुन्। अन्तर्राष्ट्रिय रूपमा उनी करियर डिप्लोम्याट हुन्। १९७७ बाट विदेश मन्त्रालयमा काम थालेका उनको पहिलो पोस्टिङ रसियाको भारतीय दूतावासमा भएको थियो।

उनले तत्कालीन भारतीय राष्ट्रपति शङ्करदयाल शर्माको प्रेस सचिव भएर समेत काम गरेका थिए।

त्यसपछि उनी विदेश मन्त्रालयको उपसचिव भए। उनले श्रीलङ्कामा भारतीय सेनाको राजनीतिक सल्लाहकारका रूपमा पनि काम गरेका थिए। डोकलम क्षेत्रको चीनसँगको तनाव हल गर्न जयशङ्करको मुख्य भूमिका मानिन्छ। मोदीको मन्त्रिमण्डलका एक मात्र गैरराजनीतिक व्यक्ति हुन्।
उनी मन्त्री भएकामा आश्चर्य मानिएता पनि उनको मोदीसँगको निकटता धेरै पहिलेदेखि कै हो।

जयशङ्करको कार्यकाल २०१७ मा नै सकिन्थ्यो। तर मोदीले थप एक वर्ष थपिदिएका थिए। २०१८ का हरेक विदेश भ्रमणमा मोदीले जॉजयशङ्करलाई पनि लिई हिँडे। वरिष्ठ पत्रकार नीरजा चौधरी जयशङ्कर मोदीको क्याबिनेटमा सामेल हुनुलाई यो मन्त्रिमण्डलको सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताउँछिन्।
बीबीसीसँगको कुराकानीमा उनले  यस घटनाबाट प्रधानमन्त्रीले अझ अघि बढेर यस्ता थुप्रै मानिसहरूलाई मन्त्री बनाउन सक्छन् भन्ने सङ्केत प्राप्त भएको बताइन्।

जयशङ्करको नियुक्ति अमेरिका र चीनसँग काम गर्नका लागि आवश्यक रहेको र अब दुवैसँग सम्बन्ध राम्रो बन्ने तर्क नीरजाको रहेको छ।