जाँदाजाँदै एमालेलाई जयबहादुर चन्दको 'छिर्के' - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

जाँदाजाँदै एमालेलाई जयबहादुर चन्दको ‘छिर्के’



नेपाल प्रहरीका एआईजी जयबहादुर चन्दले २६ औं आईजीपी प्रकरणबारे नेकपा एमालेलाई व्यंग्य गरेका छन् ।आज साँझबाट अनिवार्य अवकाश पाउन लागेका चन्दले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अचम्मको ! साँचिक्कै उदेकलाग्दो ! तिनीहरुको दोहोरो चरित्र राम्रैसँग देखियो यसपालिको नियुक्तिले ।’

उनले यो टिप्पणी ओली नेतृत्वको सरकारले दोस्रो र तेस्रो वरियतामा रहेका डीआईजीलाई आईजीपी बनाउन खोजेपछि लेखेका हुन् ।

आफूलाई सरकारले आईजीपी बनाउँदा तेस्रो नम्बरको विरोध गर्ने तर अहिले आएर दोस्रो, तेस्रो व्यक्तिलाई बनाउन खोज्ने प्रयास भएको प्रति उनले यस्तो लेखेका हुन् ।

यसमा उनले घुमाउरो पारामा राजीनामा दिएका डीआईजी रमेश खरेललाई पनि झटारो हानेको देखिन्छ । यसअघि खरेल एक नम्बरलाई आईजीपी बनाउनुपर्छ भन्दै पूर्वडीआईजी नवराज सिलवालको पक्षमा लागेको बताइएको थियो ।

यसअघि तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले जयबहादुर चन्दलाई २५ औं आईजीपी नियुक्ति गरेको थियो । तर, नियुक्ति गरेको ३ घण्टामै सर्वोच्च अदालतले चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि विवाद बढ्दै जाँदा प्रकाश अर्याल आईजीपी भएका थिए ।