नेरूदाका कविता र मेरा डायस्पोरिक घाउहरू - Himal Post Himal Post
  • ५ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
Logo

नेरूदाका कविता र मेरा डायस्पोरिक घाउहरू



-जेभियर जमोरा

आफ्नो परिवार कहाँबाट आयो भन्ने कथा कहिले र कहाँ भन्न सुरु गर्ने ? किन अर्को देशमा बसेको ? त्यसो गर्नु पर्छ र ? एल साल्भाडोरबाट नौ वर्षको उमेरमा एक्लै अमेरिका छिरी क्यालिफोर्नियाको सान राफेलमा हुर्केबढेको मैले यस्ता प्रश्नहरू कहिल्यै सोधिनँ। सोध्ने आँट गरिनँ। जुन १०,१९९९ का दिन सोनोरन मरुभूमि हुँदै मैले सीमा पार गरेदेखि, ग्वाटेमाला मेक्सिको सीमामा बसको पछिल्लो भागबाट मेरो हजुर्बालाई बिदा गरेदेखिपछि के हुन्छ भन्नेबारे कहिल्यै बोल्नु हुन्न भन्ने जानेको थिएँ।

म हजुरबालाई छ वर्षसम्म र हजुरआमालाई उन्नाइस वर्षसम्म भेट्नेवाला थिइनँ। जुन ११, १९९९ का दिन अमेरिकामा आमाबाबुसँग मेरो पुनर्मिलन हुँदा, उहाँहरूले मलाई ‘आफू अर्को देशमा जन्मेको, आफ्नो “अवैध प्रवेश”बारे र ती दुई महिनामा आफूले भोगेका कुराहरू कसैलाई नभन्नू’ भनी आदेश दिनुभएको थियो र कसैलाई मेरो थातठेगाना थाहा भएन। यो मेरो रहस्य भएर रह्यो।

मेरो ‘शरणार्थी गाथा’को ट्रमालाई पुनर्मञ्चन गर्न, विश्लेषण गर्न र परिमार्जन गर्न मसँग औजारहरू(कलम र कविताका कागत)हुनु अघिसम्म ती सबै क्रोधलाई मैले भित्र कतै गुम्स्याएर राखेँ।  आफ्नो अनुभव बिर्सन चाहेँ, तर ट्रमाले त त्यसरी काम गर्दैन। मैले अनुभव गरेको कुरा कसैले पनि – मेरा आमाबाबु, मेरा साथीहरू, मेरो सबैभन्दा राम्रो परामर्शदाता – बुझ्न सक्तैनन् भन्ने मलाई लाग्थ्यो। मलाई एउटा महासागर, तीनवटा देशहरू र एउटा मरुभूमि पार गर्दै अर्को देशमा आफैँ पलायन हुँने नौ वर्षे केटो ममात्र भएको जस्तो लाग्थ्यो। माहतेम सिफेराहले आफ्नो कविता “जातको कुरा” मा उल्लेख गरेझैँ,

नयाँ सीमामा मैले कसरी ‘फिट’ हुने हो, कसरी समायोजित हुने हो मैले जानेँ (जानिनँ)

मजस्ता फिरन्तेका लागि घरजस्तो कुनै कुरा हुँदैन, अपनत्वको कुनै बाटो हुँदैन।

म मेरो अपार्टमेन्ट कम्प्लेक्समा गलत मानिसहरूसँग पिउन र बरालिन थालेँ। केही ‘ग्याङ’का रङहरू पनि लगाएँ। म र मेरा साथीहरू वास्तविक ग्याङ्स्टर थिएनौँ;  हामीलाई स्वीकारियोस् भन्नका लागि मार्गमात्र खोजिरहेका थियौँ। म मिडल स्कुलमा एउटा सम्मानित विद्यार्थी हुन सक्थेँ, तर मेरो व्यवहारले मलाई टाढै राख्यो। एक पटक, मैले सातौँ श्रेणीका शिक्षकलाई पानीको बोतलले झटारो हानेँ। सबै हास्ने गरी कसैलाई अश्लील गाली गर्दा मलाई कक्षाबाट धेरै पटक निकालियो। मलाई देखिनु आवश्यक थियो। सुनिनु आवश्यक थियो। कसैले मलाई वास्तवमै ‘तिमीलाई के भएको छ हँ भनेर ?’ सोधोस् भन्ने चाहन्थेँ। यही प्रश्नले मलाई उनीहरूका अगाडि हिम्मत हारेर ग्वाँग्वाँ रुन दिएन। तर त्यसरी कसैले कहिल्यै सोधेन।

हाइस्कुलमा पुगेपछि मैले आफूलाई कविताद्वारा आविष्कृत हुन दिएँ। म सिनियर-वर्षमा हुँदा, अङ्ग्रेजी शिक्षिका नीनाले पूरा तीन हप्ता कविताका लागि खर्च गरिन्। उनले वास्तविक, जिउँदो कवि रेबेका फोस्टलाई पनि कक्षामा ल्याइन्।  रेबेकाले नै मलाई पाब्लो नेरूदासँग पुनर्परिचय गराइन्। अन्य थुप्रै ल्याटिन अमेरिकी आमाबाबुहरूसँगझैँ, मेरा आमाबाबुसँग पनि स्प्यानिस भाषामा भएको ‘ट्वेन्टी लभ पोएम्स एन अ सङ अफ डिस्पेयर’ थियो, तर त्यसलाई म भित्रैदेखि घृणा गर्थेँ। तर कक्षाकोठा भित्र स्प्यानिस र अङ्ग्रेजी एउटै पृष्ठमा देख्‍नुको असर जादुझैँ भयो। मेरो दुईवटा परिचय सँगसँगै उभिएको यो पहिलो क्षण थियो।

नेरुदाले चिलीको भूदृश्यको कुरा गर्दा त्यसले मलाई मेरो घर सम्झायो। “मि टियरा(मेरो घर)” पहिलो कविता थियो जुन मैले सचेत भएर लेख्‍न सुरु गरेको थिएँ। बिर्सन खोजेका कुराहरूको पुनर्आविष्कार गरिरहेको थिएँ म। नेरुदाले मलाई रोक डाल्टन, क्लारिबेल अल्जेरिया, शारोन ओल्ड्स, जुन जोर्डन, युसुफ कोमुन्याका, चार्ल्स सिमिकतर्फ डोऱ्याए र अन्त्यमा ‘इन्क नोज नो बोर्डर्स’का कविहरूसम्म पुऱ्याए। कविताले मलाई भन्यो – ‘तँ एक्लो छैनस्।’

मैले मेरो बालापन एल साल्भाडोरमा बिताएको थिएँ; तर लि-युङले उनको कविता ‘अ हाइम टु चाइल्डहुड’ मा भनेझैँ त्यो कुन बालापन थियो मलाई थाहा थिएन। के त्यो ‘कहिल्यै अन्त्य नहुने’ बालापन थियो वा ‘आफू उम्किन नसकेको’ बालापन थियो ? पक्कै त्यो ‘बाँकी नरहेको’ बालापन हुनुपर्छ। मैले मेरा साथीहरूसँग चोरपुलिस खेलेँ, किनकि वास्तविक जीवनमा म चोरझैँ अधिकारीहरूबाट भाग्दै हिँडे – नाउहरूमा, बस मुन्तिर, झाडी मुन्तिर।

मलाई एउटा कुराले निर्देशित गरेको थियो – आफ्ना आमाबाबुसँग भेट हुने आस। म दुई वर्ष हुनै लाग्दा मलाई छोडेर हिँडेका बाबुसँग अन्त्यमा भेट हुने आस। ती बाबु जसले एक पटक फुटबल खेलभन्दा अगावै मैदान छिर्दा मलाई काँधमा  बोकेका थिए। त्यस पृष्ठमा, कविताकै कारणले मैले त्यो वास्तविकता लेख्‍न सकेँ, सुनेका चित्रहरू लेख्‍न सकेँ। म सुत्‍नुअघि मेरी आमाका नरम हातहरूले टाउको सुमसुम्याएको पुनर्मञ्चन गर्न सकेँ। कविताले यी र यस्तै धेरै संस्मरणहरूमा अल्झायो। कविताले खुल्नु बेठीक होइन भन्ने सिकायो। आफूभित्र हेर्न र आफ्ना वरिपरिकाहरूलाई उनीहरूका कार्यप्रति जबाफदेही मान्न कविताले सिकायो।

म ‘कविताले सबै समस्या समाधान गर्छ र यसले मलाई पूर्ण रूपमा खुसी बनायो’ भन्दिनँ तर यो जीवन-पर्यन्त खुसी बन्ने प्रयासको थालनी भने पक्कै थियो। ‘सोम डे आइ’ल लभ ओसन भुओङ’ मा ओसन भुओङ लेख्छन् :

“बाटाको अन्त्य धेरै टाढा छ/त्यो हाम्रा पछाडि आइसक्यो”

“तपाईँको शरीरको सबैभन्दा सुन्दर भाग/ त्यो हो जहाँ तपाईँको शरीर जाँदैछ”

मैले यो लेख गएको जुलाई २०१८ मा एल साल्भाडोरको मेरो बालापन बितेको घरबाहिर लेख्‍न सुरु गरेको हुँ जहाँ मेरा वरिपरि भ्यागुताहरू र चराचुरुङ्गीहरू मलाई साथ दिइरहेका थिए। मेरो घर विमानस्थलबाट उड्ने वायुयानहरूको उडानमार्ग मुनि पर्छ। सानामा मैले त्यहाँबाट उड्ने हरेक विमानलाई सानफ्रान्सिस्को इन्टरनेसनल विमानस्थल जान उडेको ठानेको कुरा अहिले म सम्झन्छु। दिनको चार वा पाँच पटक म माथि हेर्थेँ, धावनमार्गको अन्त्यमा आफ्ना आमाबाबु उपस्थित देख्थेँ। म नौ वर्षको भए पछि, लेना खलाफ तुफाहाले आफ्नो कविता ‘इमिग्रान्ट’ मा व्याख्या गरेको देश छोडेर जाँदा चढ्ने “मेरो गहिरो नीलो जादुमय कार्पेटमा/अमेरिकी पासपोर्ट”मा जस्तो अनुभव गर्ने सुविधा मैले पाइनँ।

तर गएको जुलाई ११, २०१८ का दिन २८ वर्षको उमेरमा, म विमान चढेर क्यालिफोर्नियाँ फर्किएँ। म इबि-१ भिसा, अर्थात् ग्रिन कार्डका लागि अन्तर्वार्ता दिन एल साल्भाडोर आएको थिएँ। १९ वर्षपछि आफ्नो देशमा फर्किन कठिन लागिरहेको थियो। गोली चलेका आवाजहरूले मलाई धेरै रातहरूमा ब्यूँझाएका छन्। बिहानै एउटा अर्को मृत्युको सङ्केत गर्न चर्चका घण्टीहरूको आवाज आउँथ्यो।  मेरो सहर कति परिवर्तन भएको थियो, म कति परिवर्तन भएको थिएँ, भन्न गाह्रो छ। क्रेग सान्टोस पेरेजले आफ्नो कविता ‘अफ-आइल्यान्ड चामोरोस’मा लेखे झैँ – मैले आफ्नै देशमा आफूलाई बिरानो अनुभव गरेँ। म त्यहाँ तीन हप्तासम्म बसेँ जसमध्येका दुई हप्ता भिसा अन्तर्वार्तामा पास हुन्छु कि हुन्न भन्ने अन्योल मै बित्यो। तर म पास भएँ। त्यसो कविता नै थियो जसले मलाई कलेजसम्म पुऱ्यायो र आवश्यक धेरै पुरस्कारहरू दिलायो, अझ मलाई “आइन्स्टाइन भिसा”का लागि आवेदन गर्न पाउने मञ्च पनि दियो। अमेरिका फिर्ता जान पाउँछु कि पाउँदिन भन्ने अन्योलमा रहेका ती दुई हप्तामा आफ्नै देशमा कविता पढ्न पाउनु एउटा आशीर्वाद थियो।  मैले मेरो आप्रवासनका कथाहरू उतार्ने औजारहरू पाउनु र ती कथाहरूलाई सधैँ अस्तित्वमा बनाइराख्‍ने अवसर पाउनु पनि आशीर्वाद नै थियो। हाम्रा देशहरू परिवर्तन भएका छैनन्। एल साल्भाडोरमा अझै खतरा छ/रहनेछ र हामीले देश छोडिरहने छौँ।  हामी देखिन मात्र चाहन्छौँ। आफ्ना कथाहरू आफ्नै शब्दहरूमा, आफ्नै आवाजहरूमा, ‘इन्क नोज नो बोर्डर्स’जस्ता सङ्कलनहरूमा अस्तित्वमा आएको देख्दा मलाई केही आराम चाहिँ अवश्य हुन्छ।

—-

जेभियर जमोरा एल साल्भाडोरमा जन्मिएर अमेरिका बसाइँ सरेका कवि हुन्। उनको ‘अनअकम्पनिइड(२०१७)’ कृति प्रकाशित छ।

—-

अनुवाद एवम् प्रस्तुतिः कुमुद अधिकारी ([email protected])