सामाजिक विकास मन्त्रीद्वारा जातीय संग्राहलय शिलान्यास - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

सामाजिक विकास मन्त्रीद्वारा जातीय संग्राहलय शिलान्यास



यज्ञराज उपाध्याय / कैलाली

प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीले कैलालीको पूर्वी भागमा पर्ने जानकी गाउँपालिका वडा नम्बर ९ मा नेपाल जातीय संग्राहलयको मुख्य भवनको बुधवार एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।

नेपाल जातीय संग्राहलय कार्यसमितिका अध्यक्ष, पूर्व सांसद एवं होमाहार महिला नेतृ गरिमा शाहले अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारी रहेका थिए भने विशिष्ट अतिथिमा प्रदेशसभा सांसद रतन थापा र जानकी गाउँपालिकाका प्रमुख प्रदिप कुमार चौधरी रहेका थिए । थुप्रै आमनागरिकहरु लगायत पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा कार्यक्रमको औपचारिक उद्घाटन अगाडी समितिका अध्यक्ष गरिमा शाहले उक्त संग्राहलयको पृष्ठभूमि बारे जानकारी समेत गराएकि थिइन ।

संग्राहलयका बारेमा जानकारी दिँदै शाहले उक्त संग्राहलय भित्र थुप्रै जातजातिका घरहरू बनाइने विभिन्न विभूतिहरूका ढुङ्गाका ठुला मूर्तीहरू बनाएर राखिने बताइन । अपि हिमालको नक्कल, उत्तरमा भारत नेपालको सिमाना रहेको ॐ पर्वतको दृश्य समेत देखाइने गरी संग्राहलयको चारै तिर बृक्षारोपण गरिने शाहले बताइन । ५ वर्ष भित्र करिब १० करोडमा केही महत्त्वपूर्ण कार्यहरू गर्ने योजना भएता पनि बजेटको अभाव भइरहेको शाहले बताइन । २०७० सालमा गुरुयोजना बनाएर २०७१ सालमा निर्माणकार्य सुरु गरिएको संग्राहलयको जग्गा खोज्नै डेढ वर्ष लागेको शाहले दुखेसो पोख्नुभयो ।

नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी शाहले संग्राहलय भित्र लगभग ५० वर्ष पहिलेका छाउपडी गोठहरू समेत बनाइने भन्दै अहिले त्यस्ता छाउपडी गोठहरू नभएकाले नयाँ पुस्ता र अन्य पर्यटकहरूलाई भविष्यमा जानकारी लिन सहज हुने बताउनु भयो । अहिले शिलान्यास गरिएको मुख्य भवन जसको कुल लागत ३ करोड रहेको भन्दै पहिलो चरण अन्तर्गत ३८ लाखमा माथिल्लो विभागले नै काम सुरु गर्न लागेको शाहले बताइन ।

मन्त्री सोडारीले कार्यक्रममा बोल्दै प्रदेश नम्बर ७ अझै भन्नुपर्दा कैलाली जिल्लाको पूर्वी भागमा थुप्रै जातजातिका मानिसहरू बसोबास गर्ने भएकाले उनीहरूलाई एकताबद्ध गरेर अगाडी लान आवश्यक भएकाले यो नेपाल जातीय संग्राहलय पनि अत्यावश्यक रहेको बताए । उनले सबै जातजातिका मानिसहरू मिलेर बस्नुपर्ने भन्दै अहिले यी धार्मिक एवं संस्कृति सम्बन्धी कुराहरू आफूले सम्हालीरहेकाले प्रदेश सरकारले गर्न सक्ने सहयोग सधैँ गर्न तयार रहेको दाबी गरे ।

नेकपा एमाले कैलाली कमिटी अध्यक्ष समेत रहेका सोडारीले उक्त भवन शिलान्यास कार्यक्रममा फरक प्रसङ्ग जोड्दै मानव सभ्यताको सुरुवात नदी किनाराबाट भएको बताउँदै जानकी गाउँपालिकाको किनार हुँदै बगेको कर्णाली नदीमा धार्मिक क्षेत्रको विकास गर्नुपर्ने बताए । “मानव जीवनको सुरुवात नदीकै किनाराबाट भएको भन्ने मान्यता छ त्यसैले पनि यही जानकी गाउँपालिकाको किनार हुँदै बगेको कर्णाली नदीकै किनारामा धार्मिक क्षेत्रको विकास गर्न सक्नुपर्छ ।” उनले भने, “जानकी गाउँपालिकाले हामी सङ्ग केही छैन भन्ने होइन भएका चिजबाट थप विकास गर्नुपर्छ ।” उनले अहिले प्रदेश सरकार भन्दा बढी स्थानीय सरकार सङ्ग अधिकारहरू भएकाले स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका निभाउनुपर्ने दाबी गरे ।

असाढ १ गते आफू बजेट ल्याउँदै गरेको भन्दै उनले प्रदेश सरकारको भूमिकाका बारेमा अहिले प्रश्न चिन्ह खडा भएको बताए । लगभग ३७ करोड बजेट जानकी गाउँपालिकालाई यस अघि नै आएको भन्दै यही वर्षको असाढ १० देखि १५ गते भित्र सम्पूर्ण स्थानीय तहले बजेट छुट्टाउन लागेकाले जानकी गाउँपालिकाले यस संग्राहलयका लागि केही बजेट छुट्टाउन सक्ने दाबी समेत गरे । नेपाल जातीय संग्राहलयको निर्माणका लागि महिला नेतृ गरिमा शाह सांसद भएकै बेला देखि उनको नेतृत्वमा समिति बनाएर योजना अघि सारिएको थियो । त्यसैलाई मध्यनजर गर्दै मन्त्री सोडारीले भने, “गरिमा दिदीले आफ्नो कार्यकालमा योजना बनाउने र कार्य प्रारम्भ गर्ने काम गर्नुभयो, अब हामी आफ्नो कार्यकालमा संग्राहलयको निर्माण सम्पन्न गर्ने र बुढो बनाउने काम गर्छौँ ।”

कार्यक्रममा बल्दै विशिष्ट अतिथिका रूपमा आँसित प्रदेश सांसद रतन थापाले केही समय अघि थारु संग्राहलय भन्ने नाम सुनिएको जस्तो लागेता पनि खास नेपाल जातीय संग्राहलय भएकाले खुसी भएको भन्दै पर्यटकहरूलाई नयाँ नयाँ कुराहरूको अवलोकन गर्न बढी मन पर्ने भएकाले यो संग्राहलय पनि पर्यटकका लागि नयाँ हुने दाबी गरे । थापाले ठाउँ ठाउँमा संग्राहलय निर्माण गर्न नहुने भन्दै केही समय अघि प्रतापपुरमा पनि संग्राहलय कै विषयमा कुरा भएको बताए ।

“अमरावतिमा बनाउन लागिएको यो नेपाल जातीय संग्राहलय लम्कीको पनि हो र बाजुराको पनि हो ।” उनले भने, “थुप्रै ठाउँमा संग्राहलय मात्रै बनाउन राम्रो हुँदैन त्यसैले यो संग्राहलय यहाँ बनोसके पछि अर्को ठाउँमा कुनै नयाँ कुरा सोच्नुपर्छ ।” उनले प्रदेश सरकारको त कुरा मात्र गर्नुपर्ने बताउँदै सबै बजेट अब स्थानीय तहमै आउने भएकाले संग्राहलयको निर्माणकार्यमा स्थानीय तहले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै प्रदेश सरकारले गर्ने सहयोगहरू सधैँ गर्न तत्पर हुने बताए ।

प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्रीले भव्य रूपमा शिलान्यास गरेको उक्त भवन भन्दा अगाडी विभिन्न जातजातिका घरहरू अन्तर्गत थारु समुदायको घर बनिसकेको छ भने पहाडी समुदायको घर निर्माणाधीन छ । नयाँ भवनको शिलान्यासका क्रममा संग्राहलय कार्य समितिका अध्यक्ष, पूर्व सांसद एवं महिला नेतृ गरिमा शाहले आफू चीन भ्रमणमा गएको बेला त्यहाँ पुरै चीन नै देखिने संग्राहलय देखेपछि त्यसैबाट अभिप्रेरित भएर भलै नेपाल नै देखिने संग्राहलय बनाउन नसके पनि सामाजिक सद्भावका लागि आफ्नो क्षेत्रमा केही गर्नका लागि अन्य नेताहरू र बुद्धिजीवीहरू सङ्ग छलफल र समन्वय गरेर स्थानीयहरूकै सहयोगमा संग्राहलयका लागि जग्गा छुट्टाई कार्य प्रारम्भ गरेको बताइन ।

सबै नागरिकहरू साझा सम्पत्तिको हिसाबले संग्राहलय बनाउन लागिएको भन्दै शाहले संग्राहलयको पूर्ण निर्माण पछि यसलाई प्रदेश सरकारले आफ्नो मातहतमा लिएर राष्ट्र मै चिनाउन पहल गरे राम्रो हुने बताइन । शाहले भनिन “यो संग्राहलयको सम्पूर्ण स्वामित्व प्रदेश सरकारले लेओस् र राष्ट्र मै चिनाउन विशेष पहल गरोस् ।”

बाहिरका मानिसहरूले पहल गरेर मात्र केही नहुने भन्दै शाहले आफ्नो ठाउँका लागि स्थानीयहरूले पनि जोडदार तरिकाले लाग्नुपर्ने र लागेकोलाई साथ दिनुपर्ने बताउँदै पर्यटन क्षेत्र थोरै लगानीमा धेरै फाइदा हुने क्षेत्र भएकाले यस तर्फ लाग्न शाहले सबैलाई अनुरोध समेत गरिन ।

समितिका कोषाध्यक्ष लाल बहादुर थापाको स्वागतबाट सुरु भएको उक्त शिलान्यास कार्यक्रमको सञ्चालन सचिव तीर्थ उपाध्यायले गरेका थिए । कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रदिप चौधरी, प्रदेशसभा सांसद रतन थापाले आफ्ना धारणाहरू राखेका थिए ।