प्रधानमन्त्रीको जटिल प्रत्यारोपण यसरी सफल बनाए डाक्टरले - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

प्रधानमन्त्रीको जटिल प्रत्यारोपण यसरी सफल बनाए डाक्टरले



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको जटिल मानिएको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएपछि उपचारमा संलग्न डाक्टरहरू पनि खुसी बनेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार प्रधानमन्त्री ओलीको दोस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र अब कुनै खतरा नभएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।

प्रत्यारोपणमा संलग्न रहेका प्रा. डा. प्रेम ज्ञवालीले प्रधानमन्त्री ओलीको सफतालपूर्ण मिर्गौला प्रत्यारोपण सम्पन्न भएको बताए।

‘१०ः०५ बजे सुरु गरिएको थियो, २ः४५ मा सकियो’, ज्ञवालीले भने, ‘प्रत्यारोपण सफल भयो।’

उनले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जटिल खालको भए पनि सफल भएको बताए।

‘मिर्गौला प्रत्यारोपण गरेको १५ मिनेटमा पिसाब लाग्नुपर्ने थियो, उहाँलाई लाग्यो’, डा. ज्ञवालीले भने, ‘जटिल खालको थियो तर सफल भयो।’

उनले प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थालेको बताए। प्रत्यारोपाण सम्पन्न भए पनि अहिलेसम्म प्रधानमन्त्रीलाई होसमा भने नल्याइएको उनले जानकारी दिए।

प्रधानमन्त्री ओलीको बुधबार बिहान सवा १० बजेबाट मिर्गौला प्रत्यारोपण सुरु भएको थियो।प्रत्यारोपणका लागि पाँच घण्टा समय लाग्ने डाक्टरहरुले बताएका थिए। सोही समयको आसपासमा नै प्रत्यारोपण सम्पन्न भएको हो।

१२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गरिएको हो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमार सहभागी भएको बताइएको छ ।