अब म जस्तोसुकै बलिदान दिन तयार छु: प्रचण्ड - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

अब म जस्तोसुकै बलिदान दिन तयार छु: प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताका सपना पूरा गर्नका लागि आवश्यक परे जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका छन् ।

माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न, जिज्ञासाको जवाफ दिँदै उनले माओवादी आन्दोलन जतिसुकै विग्रेको भए पनि क्रान्तिकारी पार्टी निर्माणका लागि जस्तोसुकै त्याग गर्न आफू तयार रहेको बताए ।

‘कतिपयले प्रचण्ड फेरी झुपडीमा जान सक्लान त ? चिल्लो गाडी छोडन सक्लान त ? काठमाडौंको रमझम छोडन सक्लान त ? भनेर पनि भन्ने गर्छन्’ अध्यक्ष प्रचण्डले भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पदा मलाई गाउँघरमा जान, उनीहरुसंगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन् । यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्नँ्’

पार्टीमा कतिपय बिचलन आए पनि माओवादी मुल चरित्र यथास्थितिवादी र सुधारवादी नभएको उनले बताए ।

‘हाम्रो यात्रामा म सुधारवाद देख्दिनँ । ययसमा म छलाङ र गतिशिलता देख्छु’ प्रचण्डले भने, ‘कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्छन् तर २०४५ सालमा सानो समूहबाट सुरु गरेर २०५२ सालमा जनयुद्ध सुरु गरेर शान्ति प्रक्रिया हुदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो की अस्थिरता हो ?’

त्यसैले यो गतिशीलतामा जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिड्न आफूहरु तयार रहेको र अहिले पनि एउटा छलाङ हान्न खोजिरहेको प्रचण्डले बताए ।

माओवादीको बन्दसत्र गत सोमबारबाट सुरु भएको हो । महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दै सम्पन्न हुनेछ ।