एमालेसँग गठबन्धन गरेको जसपाले भन्यो : काँग्रेस उदारवादी र कम्युनिष्ट अवसरवादी - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

एमालेसँग गठबन्धन गरेको जसपाले भन्यो : काँग्रेस उदारवादी र कम्युनिष्ट अवसरवादी



एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टी नेपालले नेपालका कम्युनिष्ट पार्टीलाई कमाउनिष्ट पार्टीको संज्ञा दिएको छ । सो पार्टीले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सार्वजनिक गरेको चुनावी प्रतिवद्धतापत्रमार्फत कांग्रेस र कम्युनिष्ट पार्टीहरुलाई उक्त संज्ञा दिएको हो ।

जसपाले आफ्नो प्रतिवद्धतापत्रमा भनेको छ– ‘राजनीतिक विचारधाराअनुरुप विगत लामो समयदेखि नेपालमा मूलतः तीन थरीका विचारधाराहरु अभ्यासमा रहे । पहिलो विचारधारा हो– साम्यवादी लक्ष्य बोकेको कम्युनिष्ट विचारधारा । यो विचारधारालाई नै विश्व दृष्टिकोण मानेर धेरै कम्युनिष्ट पार्टीहरु जन्मिएका छन् । नेपालमा पनि धेरैथरी कम्युनिष्ट पार्टीहरूले आफूलाई साम्यवादी कित्तामै उभ्याएका छन् । तर, ती व्यवहारतः अवसरवादी र ‘कमाउनिष्ट’ भइसकेका छन् ।’

पूँजीवादी उदारवादी विचारधारालाई अँगाल्ने पार्टी नेपाली काँग्रेस रहेको उल्लेख गर्दै जसपाले काँग्रेसले अहिलेको वर्तमानको अर्थराजनीतिक जटिलतालाई निकास दिन नसकेको दावी गरेको छ । प्रतिवद्धतापत्रमा भनिएको छ– ‘इतिहासकै ब्याजमा धानिएको पार्टीको रुपमा काँग्रेसले पारम्परिक राजनीति गरिरहेको छ ।’ धार्मिक कट्टरपन्थी र कुनै न कुनै रुपमा राजतन्त्रात्मक शासन प्रणालीलाई आदर्शको रुपमा ग्रहण गर्ने विचारधारा पनि देशमा रहेको जसपाको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

‘देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत धार्मिक कट्टरपन्थी र कुनै न कुनै रुपमा राजतन्त्रात्मक शासन प्रणालीलाई आदर्शको रुपमा ग्रहण गर्ने विचारधारालाई राजनीतिक दृष्टिकोण मानेर अघि बढ्ने दलहरू अझै पनि छन् । नेपालमा अहिलेसम्म यिनै विचारधाराको वरिपरि बनेका पार्टीहरूले शासन चलाएका कारण देशको अर्थराजनीतिक रुपान्तरण हुन सकेको छैन’ प्रतिवद्धता पत्रमा उल्लेख छ ।

प्रतिवद्धता पत्रमा जसपालाई ‘सङ्घीय समुन्नत समाजवाद’ अर्थात् संघीय समाजवादी गणतन्त्रको सिद्धान्त निरुपण गर्ने पार्टीका रुपमा उल्लेख गरिएको छ । उत्पीडित राष्ट्रियताहरु, वञ्चितीकरण तथा बहिष्करणमा परेका अन्य समुदायहरुको पहिचान, अधिकार, स्वायत्तता, स्वशासन, समावेशिता, आरक्षण, आर्थिक तथा सामाजिक न्याय, भाषिक, साँस्कृतिक अधिकारलाई सुनिश्चित गर्दै सङ्घयि समाजवादी लोकतन्त्र राज्यव्यवस्थालाई अघि बढाएको जसपाले दावी गरेको छ ।