जसपा छोड्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

जसपा छोड्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो



काठमाडौं- अत्यन्त संकटको अवस्थामा पुगेपछि जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्ने तयारीमा लागेका छन् । नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले बैठकमै जसपमा बस्ने मूड नभएको संकेत गरेका थिए ।

स्रोतका अनुसार नैतिकताको हिसावले पनि जसपामा बस्न नसकिने अवस्था आएकाले उनीहरू पूर्वराजपा ब्युँताउने या अन्य विकल्पमा जाने भन्नेबारे छलफल गरिरहेका छन् । भित्रभित्रै छुट्टै तयारी गरेका उनीहरू पछिल्लो समय नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली निकट छन् ।

ठाकुर र महतोले जसपामा समस्या नै समस्या भएकाले पनि अबको समय यो पार्टीमा नाखर्चिने मनसायमा पुगेको बताएका थिए । उनीहरूले जसपाप्रतिको मोह भंग भइसकेको संकेत गर्दै आधिकारिकताका लागि पनि निर्वाचन आयोगमा धेरै नधाउने बताएका थिए ।

विवाद उत्कर्षमा पुगेपछि निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यो छलफल लगत्तै केहि नयाँ कदम चाल्ने तयारी उनीहरूको छ । जसपाको आधिकारिकता पनि आफूहरूले नपाउने उनीहरूले बुझिसकेका छन् । त्यसपछि के पुरानो पार्टी ब्युँताउने कि नयाँ मार्गा लाग्ने भन्नेबारे उनीहरूले थुप्रै परामर्श गरिरहेको पनि स्रोतले दाबी गरेको छ।
बुधबार काठमाडौंमा उपलब्ध कार्यकारिणी सदस्यहरूको बैठकमा नेताहरूले जसपा छाड्ने संकेत गरेको सहभागी एक सदस्यले बताए । बुधबार नै आयोगले ठाकुर पक्षले यसअघि पठाएको कार्यकारिणी समिति हेरफेरको निर्णय अस्वीकार गरेपछि यो समूह झनै समस्यामा परेको छ ।

नेताहरूले पछिल्लो समय निर्वाचन आयोगले प्रधानमन्त्री ओलीको कुरा अनि मान्न छाडेको बैठकमा बताएका थिए । आयोगले ठाकुर-महतो समुहका मुद्दा हेर्न पनि रुची नदेखाएको उनीहरूले बताएका थिए । ठाकुर र महतोसहितका नेताहरूले बैठकमै पार्टीमा बस्न नसकिने बताएपछि नेताहरू नै जिल्ल परेका थिए ।

एक नेताका अनुसार पुरानो पार्टीको पुरानो विधानलाई अन्तिम रूप दिन लागिएकाले पूर्वराजपा ब्युँताउने तयारी भइरहेको हुनसक्ने बयाउँछन् । उनले पूर्वराजपा खारेज भएको एक वर्ष नपुगेकाले पनि यसमा नेताहरूले हतारो नगरेको बताएका छन् । दुई पार्टी एकीकरण भएपछि पुरानो दल खारेजीमा जाने र त्यस्तो दलको नाममा एक वर्षसम्म अर्को दल दर्ता गर्न मिल्दैन । असार अन्तिम साता राजपा औपचारिक रूपमा विघटन भएको एक वर्ष पुग्छ ।