विभाजनको अन्तिम चरणमा जसपा, - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

विभाजनको अन्तिम चरणमा जसपा,



काठमाडौं- पटकपटक टुटफुट बेहोरेको जनता समाजवादी पार्टी नेपाल अहिले फेरि विभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईबीच बढेको द्वन्द्वले पार्टी फेरि फुटको संघारमा पुगेको हो ।

आन्तरिक द्वन्द्वका कारण अहिले पार्टीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । बैठक बोलाएर पछिल्लो अवस्थामा छलफल नभए अध्यक्ष उपेन्द्र यादवविरुद्ध हस्ताक्षर प्रयोग गरिने रणनीतिमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई समूह लागेको छ ।

नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेसँगै जसपामा समेत मन्त्री हेरफेर विषयले विवाद भइरहेको छ । मन्त्री हेरफेरका साथै अन्य विषयले जसपा विभाजन नजिक पुगेको हो । मन्त्री हेरफेर, स्थानीय तह निर्वाचनको समीक्षालगायतका विषयले जसपाभित्र विवाद सुरु भएको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई निकटका नेताले पार्टीमा निर्वाचनको समीक्षा हुनुपर्ने माग गरिरहेका छन् । तर, अध्यक्ष उपेन्द्र यादवले पार्टीको बैठक नै नबोलाएको भन्दै भट्टराई पक्षका नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।

यादवले टिकट बाँड्दा संस्थागत निर्णय नगरेको, सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीमा परामर्श नगरेको, पार्टी विधानअनुसार अर्को अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्न अनिच्छा देखाएको आरोप भट्टराई पक्षका नेताको छ ।

जसपा कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बैठक बोलाएर स्थानीय तहको निर्वाचनबारे छलफल तथा आगामी निर्वाचनबारे रणनीति तय गर्न माग गरिएको बताए । तर, हस्ताक्षर अभियान नै चलाएको भन्ने कुरा सत्य नभएको नेताहरूले बताउने गरेका छन् ।

जसपाकै कतिपय नेताहरूले भने अध्यक्ष यादव १ र २ असारमा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध भट्टराई र अशोक राई समूहले केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिरहेको बताएका छन् । जसपा विधानअनुसार पार्टीमा अर्को अध्यक्ष राख्नुपर्ने हुन्छ । तर, यादवले अर्को अध्यक्ष राख्ने विषयमा अनिच्छा व्यक्त गर्दै बैठक पर सार्ने गरेका छन् ।

स्थानीय तहको चुनावअघि नै हस्ताक्षर संकलन सुरु गरिएको थियो । त्यति बेला असन्तुष्ट पक्षको दबाब थेग्न नसकी अध्यक्ष यादवले कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक बोलाएका थिए ।

फागुनमा केन्द्रीय समिति बैठकले १ र २ असारमा विधान अधिवेशन बोलाउने र विधान अधिवेशनबाटै दुई अध्यक्ष राख्ने विषय टुंगो लगाउने निर्णय गरेपछि असन्तुष्ट पक्षधर नेता चुप लागेका थिए ।

त्यो बेला अध्यक्ष यादव एक कदमपछि हटेका थिए । केन्द्रीय समिति र कार्यकारिणी समितिको बैठक नबस्ने अवस्थामा पार्टीले गर्ने हरेक निर्णयमा तीन जना नेता भट्टराई, यादव र राईलाई जिम्मेवारी दिने सहमति गरिएको थियो । तीन जना नेतालाई अधिकार दिएर पार्टी मुख्यालय गठन गरिएको थियो ।

यसैगरी केन्द्रीय समितिले निर्वाचनमा उम्मेदवारको मनोयनपत्रमा पार्टीका तर्फबाट हस्ताक्षर गर्ने अधिकार राईलाई दिएको थियो । सो निर्णयसँगै जसपामा विवाद साम्य भएको थियो । तर, पछिल्लो समय निर्वाचनको समीक्षासहित अन्य विषयमा छलफल गर्न यादव तयार नभएपछि पुनः हस्ताक्षर अभियान सुरु गरिएको हो ।

एकीकृत समाजवादीको मन्त्री हेरफेर निर्णयले माओवादी केन्द्र र जसपामा तरंग पैदा भएको छ । जसपा मन्त्री हेरफेरका साथै अन्य कारणले विभाजन हुने खतरा समेत देखिएको छ ।

जसपा केन्द्रीय सदस्य रोशन पोखरेलले पार्टीको बैठक बोलाएर छलफल हुनपर्ने माग उठे पनि अध्यक्ष यादवले बेवास्ता गरेको बताए ।

जसपा नेता प्रदिप यादवले अघिल्लोपटक मन्त्रिपरिषद् विस्तार हुँदा पार्टी संसदीय दलको बैठक र केन्द्रीय कार्यकारिणी समितिको बैठकमै ६ महिनापछि नयाँ व्यक्तिलाई अवसर दिने अध्यक्षको प्रस्तावमा सहमति भएको बताए । त्यसैले अहिले अधिकांश सांसद त्यही प्रस्ताव कार्यान्वयन हुनुपर्ने र नयाँले अवसर पाउनुपर्छ भन्ने पक्षमा उभिएको उनले बताए ।

जसपा स्रोतका अनुसार पार्टीभित्र दुई महिनाअघि नै मन्त्री हेरफेर गर्नुपर्ने विषय उठेको हो । मन्त्री हेरफेर गर्नुपर्ने प्रस्तावले जसपा नेतृत्व तनाव उत्पन्न भएको छ ।

जसपाका एक केन्द्रीय सदस्यका अनुसार मन्त्री हेरफेरले पार्टी विभाजनबाट जोगिन सक्छ । तर, मन्त्री हेरफेर नभए भन्न नसकिने उनले जनाएका छन् । पार्टीभित्र अन्य विषयमा समेत छलफलको आवश्यकता छ ।

जसपाबाट हाल सरकारमा राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, महिन्द्र राय यादव कृषि तथा पशुपक्षी विकास र रामसहायप्रसाद यादव वन तथा वातावरणमन्त्री छन् । उनीहरूलाई फिर्ता बोलाएर रिक्त स्थानमा आकांक्षीमध्ये चार सांसदलाई पठाउन सकिने अध्यक्ष यादवले असन्तुष्ट सांसदलाई आश्वासन दिएका थिए । यादवले आठ महिनाअघि नै ६ महिनापछि मन्त्री फेरिने आश्वासन दिएका थिए ।

जसपाबाट मन्त्रीका लागि राजकिशोर यादव, प्रमोद साह, प्रदीप यादव, मृगेन्द्र यादव, अमृता अग्रहरीमध्येबाट पठाउने भन्दै अध्यक्ष यादवले आश्वासन दिँदै आएका थिए ।