जापानी प्रधानमन्त्रीले दिए चर्चमाथि छानबिन गर्न आदेश, आबेको हत्याले लियो नयाँ मोड - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

जापानी प्रधानमन्त्रीले दिए चर्चमाथि छानबिन गर्न आदेश, आबेको हत्याले लियो नयाँ मोड



टाेक्याे- जापानी प्रधानमन्त्रीले फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि छानबिन गर्न आदेश दिएका छन् ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि एउटा धार्मिक समूहप्रति अनुसन्धानको ध्यान आकर्षण भएको हो ।

घरेलु बन्दुकबाट गोली हानेर आबेको हत्या गरेका जापानी युवकले सो चर्चले आफ्नी आमालाई कंगाल बनाएको आरोप लगाउनुका साथै यस कार्यमा आबेको पनि हात रहेको बताएका थिए ।

थुप्रै साता लगाएर गरिएको एक अध्ययनले यस धार्मिक सम्प्रदायको थुप्रै सरकारी विधायकहरूसँग सम्बन्ध रहेको देखाएको छ । उक्त सम्बन्धका लागि हत्याकाण्डलाई लिएर प्रधानमन्त्री किसिदा सार्वजनिक रूपमै क्षमायाचना गर्न बाध्य भएका थिए ।

किसिदाले सोमबार अनुसन्धानको आदेश दिँदै भनेका छन्, “मैले परिवारहरूलाई बरबाद गरेको र अनुयायीहरूलाई पैसाका लागि शोषण गरिएको भन्ने जस्ता यस चर्चमाथि लागेका आरोपहरूलाई गम्भीरतापूर्वक लिएको छु ।”

चर्चले यसअघि आबेको हत्यालाई लिएर आफूलाई अनावश्यक रूपमा मुछिएको भन्दै भत्सर्ना गरेको थियो ।

यस चर्चका थुप्रै पूर्वअनुयायीहरूले चर्चविरुद्ध मुद्दा दायर गरेका छन् ।

राजनीतिक विशलेषकहरूले भने किसिदाले जनविश्वास फिर्ता ल्याउने उद्देश्यले अनुसन्धानका लागि आदेश दिएको बताएका छन् ।

बीबीसीबाट ।