काठमाडौं जन्ती लैजान दुई ओटा हवाईजहाज चार्टर ! - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

काठमाडौं जन्ती लैजान दुई ओटा हवाईजहाज चार्टर !



धनकुटा — सुन्दा अचम्म लाग्न सक्छ जन्ती लैजान कसैले हवाईजहाज चार्टर गर्छ भनेर त्यो पनि दुई दुई ओटा । यो प्रसङ्ग हो नेपालकै । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाकाले छोराको बिहेमा जितपुरबाट काठमाडौं जन्ती लैजान दुई हवाईजहाज चार्टर गरे ।

६९ जना जन्तीलाई दुई वटा हजाईजहाज चार्टर गरेको बिषयले अहिले चर्चा बटुलेको छ । जसमा पहिलो पटक काठमाडौँ जाने ४० ज्येष्ठ नागरिकसमेत जन्ती भएर गएका छन्।

थापाले आफ्नै निवास रहेको जीतपुरबाट विराटनगर विमानस्थलसम्म तीन वटा गाडीमा जन्ती लगेका थिए। विराटनगरबाट काठमाडौँ गएर साँझ पुनः बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर आएको थापाले बताए। ज्येष्ठ नागरिकलाई काठमाडौँ भ्रमण गराउने मुख्य उद्देश्यले जन्तीको रूपमा प्लेन चार्टर गरेर लगेको हुँ’ उनले भने, ‘छोराको जन्ती भएर गाउँघरका अधिकांश ज्येष्ठ नागरिक भ्रमण गराउन पाएकोमा खुसी लागेको छ।’

जहाजसमेत पहिलो पटक चढेको ७५ वर्षीय दिलबहादुर पौडेलले पहिलो पटक काठमाडौँ पुग्दा निकै दङ्ग परेको बताए। जन्ती भएर दौरा सुरुवालमा ठाँटिएका पौडेलले एकै दिनमा विराटनगर–काठमाडौँ हवाईजहाज चढेर आतेजाते गर्दाको क्षण जीवन सुखद रहेको प्रतिक्रिया दिए।

‘मैले त सोचेकै थिइन यस्तो अवसर आउला भन्ने’ उनले भने, ‘पिलेनबाट तल हेर्दा रिँगटा लागे जस्तो भए पनि असाध्यै रमाइलो भयो।’ पौडेल जस्तै ६८ वर्षीय चक्रबहादुर कार्कीले पनि काठमाडौँ देख्न पाउँदाको खुसी भुल्नै नसक्ने बताए। अर्का ज्येष्ठ नागरिक पदमबहादुर खड्काले पनि पहिलो पटक जहाज चढेर काठमाडौँ पुग्दा रमाइलो भएको बताए।

जन्तीको रूपमा महालक्ष्मी नगरपालिकाका मेयर परशुराम नेपाल, शिक्षा समन्वय ईकाइ प्रमुख रामबहादुर थापा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेलगायत जनप्रतिनिधिहरू पनि गएका थिए। जहाज चढेर जन्ती भएर सिँगारिएको भव्य पार्टी प्यालेसमा पुग्दा अधिकांश दङ्ग देखिएको जन्तीका रूपमा गएका महालक्ष्मी नगरपालिका मेयर नेपालले बताए। ६९ जना मध्ये अधिकांश पहिलो पटक जहाज चढेका थिए।

दुबैतर्फ आतेजाते चार्टर गर्दा साढे सात लाख रुपैयाँ खर्च भएको नगेन्द्रले जानकारी दिए। अलैंची खेती र व्यावसायिक पशुपालन गर्दै आएका उनले गाउँभरिका ज्येष्ठ नागरिकलाई आफ्नै खर्चले भ्रमण गराउने पहिले देखिको मनोकांक्षा रहेकोले जन्तीको अवसर पारेर इच्छा पुरा गरेको बताए। उनी छोरा दिनेश र काठमाडौँ निवासी बुहारी प्रज्ञा सुवेदीसहित जहाजबाट बुधवार राति नै पुनः जीतपुर फर्किएका छन्।