जङ्गली फुल : सुमिना 'अभिलाषी' - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

जङ्गली फुल : सुमिना ‘अभिलाषी’



-सुमिना ‘अभिलाषी’

मालीको सुसार बिना हुर्किएँ
छन् “फुल कम काँडा ज्यादा”
थाह छैन मलाइ
बगैँचाका अनुशासनहरू !

र त पालना गर्दिन म
मालीका विधानहरू !

अभिमानी पहरामा निर्भीक फुलेकी
म त अराजक
“एक जङ्गली फुल” !

पृतम !

तिमी चुँड्नु अघि
एक पटक अवश्य सोच्नु
कहीँ रगताम्मे हुन सक्छन्
तिम्रा सुकोमल पन्जाहरू ।

एक प्रभात
कसैले सोध्यो मलाइ
तँ मा यतिधेरै क्रुरता किन ?

प्रतिउत्तरमा म बोलेँ –

मलाइ सोध्नु पूर्व
सोध यही प्रश्न ती अनाथहरूलाई

जो लावारिस जन्मिए
सडकमा हुर्किए, खेले , बढे
कसले कसरी निर्वाह गर्‍यो
उनको अभिभावकत्व ?

के उनलाइ पढाइयो
मान्छेबाट मान्छे बनाइनुका शिक्षाहरू ?

हो !
अराजकता मेरो मन्त्र हो
तर स्वतन्त्रता असुल !

म त अभिमानी पहरा छेउ
निर्भीक फुलेकी
अराजक “एक जङ्गली फुल” ।

पृतम !

यदि दृश्यमा परेँ भनेँ ,
चुपचाप नियाल्नु टाढै बाट
तर ,
नजिक आउनु पूर्व
एक पटक अवश्य सोच्नु
कतै काँडामय हुन सक्छन्
तिम्रा सुकोमल पैतालाहरू !

फगत नदेखाउनु “त्रास”
बतासको
म त आँधीको बाटो छेकेर
निर्धक्क फुल्न सिकेँ

भो नसोध अनुकूलता के हो
र प्रतिकूलता के हो ?

बाल् मतलब
मलाइ पर्वाह छैन कुनै कठिनाइको !

म त
परिस्थितिको कठालो समातेर
समयलाई आफ्नो गुलाम बनाउन खोज्ने
एक महत्वाकांक्षी शासक !

कोही आसै नगर म बाट
“सहानुभूति”

नचाहेर पनि क्रूर संसार सँग भिडन्त गर्न
मैले काँडा त हुर्काउनु नै थियो ।

अँ ,
मैले आफू सँग भएको कोमल हृदय
निकै पहिले बेचिसकेकी छु
बैमान सहरमा !

ढोँगी कथित समाजका हरेर आदेशहरू ललकार्न —
अभिमानी पहरा छेँउ निर्भीक फुलेकी
म त अराजक “एक जङ्गली फुल”

पृतम !

आत्मीयता बढाउनु पहिले
एक पटक अवश्य सोच्नु

कतै कुल्चिन सक्छन् तिम्रा अपेक्षाहरू ,
बध हुन सक्छन् निर्मम तरिकाले

म त अभिमानी पहरा छेउ निर्भीक फुलेकी
अराजक
“एक जङ्गली फुल” ।।