मेरोविरुद्ध भ्रम छर्नेहरूबारे खुलासा गर्छु : अर्थमन्त्री शर्मा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

मेरोविरुद्ध भ्रम छर्नेहरूबारे खुलासा गर्छु : अर्थमन्त्री शर्मा



काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफ्नोबारे भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने बताएका हुन्।

‘यो देशमा लेख्नेहरूलाई छुट छ, स्वतन्त्रता छ। कुनै प्रमाण, तथ्य चाहिँदैन। जसलाई जे मन लाग्यो लेखे हुन्छ ! कतिपय लेख्नेहरूको बारेमा कुनै दिन म खुलासा गरौँला, किन लेखे त्यसको रहस्य के छ,’ बजेट निर्माण गर्दा करका दर हेरफेर गरेको आरोपबारे उनले भने। उक्त आरोप पुष्टि नभएपछि शर्मा पुनः अर्थ मन्त्रालय फर्किसकेका छन्।

सञ्चारगृहविरुद्ध मानहानिको मुद्दामा जाँदा राम्रो काम गर्नेहरू पनि आलोचित हुने भएकाले आफू तत्काल मुद्दामा नगएको पनि उनले प्रस्ट पारेका छन्। ‘यो देशमा सञ्चार क्षेत्रविरुद्ध मानहानीमा गयो भने यसले त ठिकै गरेको छ भन्नेहरू पनि विरुद्धमा जालान् कि भनेर नगएको हुँ,’ शर्माले भने, ‘मानहानिमा गएर पनि धेरै ठूलो हुने कुरा केही छैन।’

तथ्यहीन रूपमा केही समय भ्रम छरे पनि सत्य के हो भन्ने स्थापित हुने भएकाले आफू अदालती प्रक्रियामा नगएको शर्माको भनाइ छ।

नगरिकता विधेयकका विषयमा शर्माले राष्ट्रपतिले संवैधानिक अधिकारभित्रै रहेर काम गर्ने बताए। विगतमा संवैधानिक अधिकारभित्र नै रहेर फिर्ता भएको उल्लेख गर्दै उनले अब पनि संविधानअनुसार नै हुने विश्वास व्यक्त गरे।