'बजेट राम्रो बनाएकोले जनार्दनमाथि आक्रमण गरियो' - Himal Post Himal Post
  • ६ पुष २०८१, शनिबार
  •      Sat Dec 21 2024
Logo

‘बजेट राम्रो बनाएकोले जनार्दनमाथि आक्रमण गरियो’



काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्।

प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन्। सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचार आएको भन्दै उनले त्यसको खण्डन गरे। उनले समाजवादी केन्द्र तत्कालै बनाइहाल्न आफूहरुले छलफल नगरेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले केही नेताले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको बताए। उनले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणापत्र बनाउने विषयमा छलफल चलेको बताए।

उनले भने‚ ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन‚ बन्दै छैन। हामीले समाजवादी केन्द्र बनाइहालौँ भनेर छलफल पनि गरेका छैनौँ। केही–केही साथीले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो तर हाम्रा बैठकमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन‚ छैन। चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणापत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ। टुंगिसकेको छैन। जे भए पनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनुछ।’

अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताए। उनले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताए। गठबन्धनबाटै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उनको भनाई छ।

उनले भने‚ ‘एउटा ऐतिहासिक आवश्यकताले- संविधानको रक्षा, राष्ट्रको रक्षा र गणतन्त्र, संघीयताको रक्षाको निम्ति यो बनेको हुनाले यो गठबन्धन अहिले कायम रहन्छ। प्रदेश, संघको निर्वाचनसम्म मात्रै होइन यसको आवश्यकता र औचित्य रहँदासम्म यो कायम रहिराख्छ, कुनै दुविधा नपाल्नु होला। अर्को बन्छ कि भन्ने खालको कहिलेकाहीँ भ्रम आउन खोज्छ, त्यो भ्रम अब मुक्त भएर यही गठबन्धनबाट जाने हो र यसैबाट शान्ति प्रक्रिया पनि टुंग्याउने हो र यसबाटै एउटा नयाँ परिस्थिति बनाउने हो।’

अध्यक्ष प्रचण्डले पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको दाबी पनि गरे। संसदीय विशेष छानबिन समितिको रिपोर्टले शर्मालाई निर्दोष देखाएको उनको तर्क छ। उनले तत्कालीन अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयको कुनै गल्ती नभएको छानबिन समितिको प्रतिवेदनलेख देखाएको उल्लेख गरे।

‘बजेट राम्रो छ भन्ने कुरा हुँदैथ्यो‚ सबैले त्यसलाई स्वागत गर्दै थिए। राति १२ बजे अनधिकार मान्छेलाई ल्याएर करका दरमा हेरफेर गर्‍यो अर्थमन्त्रीले र यसलाई कारबाही गर्नुपर्छ भनेर यति धेरै प्रचार गरियो कि हामीले, अझ मैले नै भन्नुपर्छ अध्यक्षको हैसियतले छानबिन गर्नु भनेँ। खाएको विष पो लाग्छ, नखाएको विष त लाग्दैन‚’ उनले भने‚ ‘छानबिन गर्न तयार भयौं। संसदीय छानबिन नै सही भनियो। छानबिनको लागि १० दिन समय दिइयो‚ अझ ७ दिन थपियो। आज चाहीँ छानबिन समितिले बुझायो उहाँ निर्दोष हुनुहुन्छ‚ केही प्रमाण छैन। अब प्रमाणित भइसक्यो। भर्खरै त्यो घोषणा भयो। अर्थमन्त्रीको, अर्थ मन्त्रालयको त्यस्तो कुनै गल्ती भएको छैन भन्ने छानबिन समितिको रिपोर्ट बुझियो।’

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन नै आजको राजनीतिक मूलधार भएको जिकिर गरे। उनले माओवादी समर्थित पत्रकारको पार्टीको पक्षमा एउटा ट्विट गर्ने जाँगर पनि नभएको गुनासो गरे। उहाँले देशमा हालसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वमा दुईवटा सरकार मात्र भएको दाबी गरे।