जनार्दन शर्मा देखि विना मगरसम्म मन्त्रीको लाईनमा - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

जनार्दन शर्मा देखि विना मगरसम्म मन्त्रीको लाईनमा



प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद बिस्तारको तयारी गरिरहेका बेला माओवादी केन्द्रले मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने अन्तिम चरणमा पुगेको छ ।

१८ सदस्यीय मन्त्रिपरिषदमध्ये माओवादीलाई सात मन्त्रालय दिने सहमति यसअघि भएको थियो । फोरम पनि सरकारमा सहभागी हुने भएपछि माओवादी भागमा परेका मन्त्रालय घटाउने कि मन्त्रिपरिषदको संख्या थप्ने भन्ने विषय टुंगो लागिसकेको छैन ।

माओवादीबाट हाल रामबहादुर थापा बादल र मातृका यादव सरकारमा छन् । माओवादीबाट अब करिब पाँच जना मन्त्रीहरु सरकारमा जानेछन् । यसमा वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर पक्कापक्की जस्तै रहेको माओवादीका एक नेताले जानकारी दिए ।

पुन, बस्नेत, गिरिराजमणि यसअघि पटक–पटक मन्त्री भइसके पनि विनाका लागि भने पहिलो अवसर हुनेछ । कैलाली १ बाट निर्वाचित विना प्रचण्डकी बुहारी हुन् ।

जनार्दन शर्मालाई पनि मन्त्री बनाउनुपर्ने भनेर छलफल चले पनि कतिपय नेताहरुले उनलाई दोहोर्‍याउन नहुने बताउँदै आएका छन् । शर्माले यसअघि लगातार ऊर्जा र गृहमन्त्रालय सम्हालेका थिए ।

मन्त्रालयको संख्या र मन्त्रालय टुंगो लागिसकेपछि मात्र अन्तिम नामावली प्रधानमन्त्री ओलीलाई बुझाउने माओवादी अध्यक्ष प्रचण्डको तयारी छ ।