जनार्दन शर्मामाथि छानबिन- समितिले तयार पारेको प्रतिवेदनमा के छ ? - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

जनार्दन शर्मामाथि छानबिन- समितिले तयार पारेको प्रतिवेदनमा के छ ?



काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले अन्तिम प्रतिवेदन तयार गरेको छ ।

सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।

समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए। उनले केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए।

त्यस्तै समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको र सवैका आफ्ना–आफ्ना बिचारहरू राखिएको भन्दै सर्वसम्मत हुन नसकेको जिकिर गरे।

करका दर हेरफेरका विषयमा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरेको विषयमा छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । सुरुमा १० दिनको कार्यविधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो । समितिको म्याद बिहीबार नै सकिएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा अनाधिकृत व्यक्ति मन्त्रालयमा पसेकोबारे कुनै ठोस प्रमाण नभेटिएको उल्लेख गरिएको स्रोतले बताएको छ । यससँगै निवर्तमान अर्थमन्त्री शर्मा फेरि मन्त्रालय प्रवेश गर्ने बाटो खुलेको छ ।