रुकुम पुगेर जनार्दन शर्माले देखाए देश समृद्ध बन्ने आधार - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

रुकुम पुगेर जनार्दन शर्माले देखाए देश समृद्ध बन्ने आधार



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले सरकारले कम्तिमा १५ लाख युवाहरूलाई रोजगारी दिनेगरी योजना बनाउनुपर्ने बताएका छन् ।

नेता शर्माले देशलाई समृद्धिमा लैजाने हो भने युवाको प्रभावकारी परिचालन अपरिहार्य भएको समेत बताएका छन् ।

पश्चिम रुकुमको मुसीकोटमा सहिद स्मृति पार्क तथा भवन उद्घाटन समारोहपछि आयोजित २५ औं जनयुद्ध दिवस कार्यक्रममा बोल्दै नेता शर्माले १५ लाख युवालाई रोजगारी दिन सक्ने गरी सरकारले ठूला योजनाहरुको विकास गर्नुपर्नेमा जोड दिए ।

युवाको परिचालन र ठूला योजनाको विकासबाट एक साथ देश आर्थिक समिद्धिको दिशातर्फ अग्रसर हुनसक्ने नेता शर्माको धारणा छ ।

उनले नेकपा नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध पार्टी र सरकार निर्मम बन्न सक्नुपर्नेमा जोड दिए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता सफल बनाउन रुकुमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नेता शर्माले दुई अध्यक्षबीच विश्वासको वातावरण बनाउने कार्यमा पनि रुकुमै भूमिका रहेको बताए ।

परिवर्तनको आन्दोलनमा रुकुमको भूमिका उल्लेख्य रहेको बताउँदै शर्माले जनआन्दोलनका क्रममा भएका बलिदानीको कुनैपनि हालतमा गद्दारी नगर्ने बताए ।

उज्यालो रुकुमकबाट सुरु भएको अभियान उज्यालो नेपालको रुपमा देशैभरी फैलिएको भन्दै उनले जनतासँग हातेमालो गर्दै विकास निर्माण प्रक्रियालाई निरन्तरता दिने पनि बताए ।

कार्यक्रममा नेकपाका नेता बासुदेव गौतमले जनार्दन शर्मालाई जनयुद्धको ‘हिरो’ रुपमा चित्रित गर्दै उनी रुकुम र सिंगो देशका लागि आशालाग्दो नेता भएको बताए ।

यसैगरी नेकपा नेता खगराज भट्टले जनयुद्धलाई देशव्यापि बनाउन रुकुमले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे भने अर्का नेता शिवकुमार मण्डलले जनयुद्धले हिमाल पहाड र तराईलाई गाँस्ने काम गरेको बताए ।

नेकपाका केन्द्रीय सदस्य ओम शर्माले मुसीकोटमा निर्माण गरिएको सहिद पार्कले महत्वपूर्ण सन्देश दिएको भन्दै यस्ता पार्कहरु देशैभरी निर्माण गर्नुपर्नेमा जोड दिए । यस्ता पार्क देशव्यापीरुपमा बनाइए जनयुद्धका क्रममा भएका सहिदहरुको सम्मान हुने पनि उनले बताए ।

यस्तै अर्की केन्द्रीय सदस्य नारायणी शर्माले जनयुद्धमा महिलाको सहभागिता उल्लेख्य रहेको भन्दै सोही जनयुद्धको प्रभावले महिलामा चेतनाको स्तर पनि बढेको बताइन् ।