जानकी ९ मा विकासको लहर फैलँदै, ग्रामीण वडा मध्येको पहिलो विकासोन्मुख वडामा पर्ने लक्ष्य - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जानकी ९ मा विकासको लहर फैलँदै, ग्रामीण वडा मध्येको पहिलो विकासोन्मुख वडामा पर्ने लक्ष्य



यज्ञराज उपाध्याय / कैलाली,

जानकी गाउँपालिका वडा नम्बर ९ मा तीव्र रूपमा बिकासकार्य भइरहेको छ । स्थानीय तहको चुनाव पश्चात् उक्त वडाको हरेक क्षेत्रमा जनताको अपेक्षा अनुसारका कार्यहरू सशक्त रूपमा अगाडी बढाइएको वडाअध्यक्ष खकेन्द्र भण्डारीले बताएका छन् । वडाका हरेक ठाउँमा अहिले तीव्र रूपमा विकास भइरहेको र अहिले सम्म विकास कार्य सुरु नगरिएका ठाउँमा समेत अबको केही दिनमा नै कार्य सुरु गर्ने योजना तयार भैसकेको अध्यक्ष भण्डारीले बताएका हुन ।

जानकी गाउँपालिकाको ठुलो वडाको रूपमा समेत मानिने र कर्णाली नदी सङ्ग समेत जोडिएको यस वडामा गाउँपालिकाले झन्डै एक करोड बजेट विनियोजन गरेको थियो । त्यही बजेट भित्रै रहेर वडाले थुप्रै कार्यहरू समेत सम्पन्न गरिसकेको छ र अझै थुप्रै कार्यहरू सुचारु छन् । वडाले नेपालमै अहिले सम्म कहीँ नभएको एउटा गतिलो कार्य गरेर समेत नाम कमाएको छ । गत वर्ष पौष १९ गते वडालाई जुवा तास मुक्त वडा बनाइसके पछि यस वडालाई अहिले ग्रामीण क्षेत्रकै विकास कार्यको अग्रणी वडाको रूपमा समेत लिइएको अध्यक्ष भण्डारीले दाबी गरे । वडालाई जुवा तास मुक्त गरेदेखि अहिले सम्म कसैले पनि नियम विपरीत जुवा तास खेल्ने गरेको आफूले नभेट्टाएको उनले बताए ।

सडक बिस्तार नै विकास हो भन्ने अहिलेको बिश्वब्यापी धारणा अन्तर्गत रहेर जानकी गाउँपालिकाको सबैभन्दा कान्छो वडाको रूपमा राखिएको वडा नम्बर ९ मा अरू वडा भन्दा बढी सडक बिस्तार कार्य समेत भैरहेका छन् । वडाको पूर्व खैरिफाँटा देखि वडा नम्बर ८ को जवलपुर सम्म जोड्ने ७ किलोमिटर बाटोलाई १ सय ४४ फिट देखि १ सय फिट सम्म चौडाई गरी विकास भइरहेको छ । चालू आर्थिक वर्ष २०७४/७५ मा करिब २० किलोमिटर सडक माटो पटानी गरेर ग्राभेल गर्ने लक्ष्य राखेको यस वडामा पहिले गाउँमा आगो लाग्दा दमकल हिँड्न प्रयोग गरिने सडकलाई फायर लाइनका रूपमा निर्माण गरिने गरी उक्त सडकको केही समय अघि प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीबाट नै शिलान्यास समेत गरिएको छ ।

उक्त फायर लाइन सडक निर्माणका लागि वडाले प्रारम्भिक बजेट अन्तर्गत १३ लाख छुट्टाएर काम अघि बढाइएको छ । यो योजना वडाको यो पटकको सबभन्दा ठुलो योजना समेत रहेको अध्यक्ष भण्डारीले जागिर गरे । चुनावका बेला जनता समक्ष खाएका बाचा र जनताका अगाडी गरेका प्रतिबद्धताका आधारमा अहिले काम गरिरहेकाले जनताले पनि आफूलाई विश्वास गरेको र आफ्नो हरेक कार्यमा साथ दिँदै आएको भन्दै अध्यक्ष भण्डारीले सडक बिस्तार बाहेक दुईवटा विद्यालयमा ७२-७२ मिटर गरेर जम्मा १ सय ४४ मिटर पर्खाल बनाइएको उनले दाबी गरे । हिमालय मावी र पाताभार मावीमा पर्खाल निर्माण सम्पन्न भैसकेको छ ।

वडाको यो पटकको सबैभन्दा ठूलो फायर लाईन सडक निर्माण योजना पछिको ठूलो योजनामा अमरावतिको सुकुम्बासी टोलमा १० लाखको ढल निकास योजना रहेको भन्दै नेकपा एमालेबाट स्थानीय तहको चुनावमा वडाअध्यक्षमा निर्वाचित अध्यक्ष भन्डारीले भने, “अहिल गाउँपालिकामा आफ्नो दलको भन्दा अर्को वडाको बहुमत रहेकाले आफुलाई भन्दा बढी गाउँपालिकाले आफ्नै दलका प्रतिनिधि भएको वडालाई प्राथमिकतामा राखेकोले केही चुनौतीहरु छन ।” जानकि गाउँपालिकामा बामगठबन्धनको बहुमत नभएकाले समस्या उत्पन्न भएको भन्दै उनले गाउँपालिकाले आफ्नै दलका वडाअध्यक्ष भएको वडालाई प्राथमिकतामा राखेको आरोप समेत लगाए । भन्डारिले गाउँपालिकाले आफुलाई जस्तो दृस्ठिकोणले हेरे पनि जनताको सेवाको लागि कहिलै बिहान ६ बजे देखि साँझ ६ बजे सम्म वडा कार्यालय मै बस्ने गरेको बताए ।

शिक्षा क्षेत्रमा करिब २० लाख बजेट छुट्टाएर शैक्षिक गुणस्तर वृद्धिका लागि समेत बिशेष काम गरिरहेको वडा नम्बर ९ स्वास्थ्य क्षेत्रमा भने निकै कमजोर रहेको छ । स्वास्थ्य क्षेत्रमा कमजोर मात्र हैन वडाले स्वास्थ्य क्षेत्रका लागि १ रुपैयाँ पनि बजेट छुट्टाएको छैन । प्राथमिक स्वास्थ्य केन्द्र नभएकाले स्वास्थ्य क्षेत्रमा आफू कमजोर भएको स्विकार्दै अध्यक्ष भन्डारीले भने अहिल वडा नम्बर ९ का जनताहरु साविक पथरैया गाविसको भवनमा रहेको स्वास्थ्य चौकीबाट सेवा लिइरहेका उनले बताए ।